• २०८१ पौष २१ आइतबार
  • Sunday, 5 January, 2025

साम्बा लागिन् क्लब फुटबल खेल्न फ्रान्स

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किएकी छन् ।

बुधबार राति साफको फाइनल खेलेकी सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स लागेकी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै छैटौंपटक उपविजेता बनेको थियो ।

फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेल्ने नेपाल आएकी थिइन् ।


उनले समूह चरणमा एक खेल मात्र खेलिन् भने सेमिफाइनल र फाइनल गरी कुल तीन खेल खेलिन् । जसमा दुई गोल गरिन् ।

भुटानविरुद्ध पहिलो खेल फिफा विन्डोमा नरहेकोले क्लबले उनलाई ढिला रिलिज गरेको थियो । अक्टोबर २० मा नेपाल आइपुगेर भोलिपल्ट माल्दिभ्सविरुद्धको खेलका लागि उपलब्ध भएपनि उनले खेलिनन् ।

प्रशिक्षक राजेन्द्र तामाङले आवश्यक परेमा प्रयोग गर्ने बताए पनि सावित्राले खेल्नुपरेन । माल्दिभ्सविरुद्ध नेपाल ११-० को फराकिलो अन्तरले विजयी भएको थियो ।

सेमिफाइनलमा भारतविरुद्ध एक गोलले पछि परेको स्थितिमा सावित्राले बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएकी थिइन् । उनले सुटआउटमा गोल पनि गरिन् । नेपालले पेनाल्टीसुटआउटमा भारतलाई ४-२ ले हराएर फाइनल पुगेको थियो ।

तर, लगातार दोस्रोपटक बंगलादेशसँग फाइनलमा पराजित हुँदा पहिलोपटक साफ जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर