रविलाई तिहारपछि मात्रै अदालत लगिने, सकियो बयान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।
सहकारीको रकम अपचलनको विषयमा प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरेको थियो ।
गोर्खा मिडिया नेटवर्कमा काम गर्दा आफूलाई ‘स्वेट शेयर’ वापत आएको एक करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गरेको लामिछानेले वयान दिएका छन् ।
उनले बयानका क्रममा आफूमाथि लागेको आरोप इन्कार गरेको स्रोतले जनाएको छ । रविले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरहेको भन्दै सहकारी ठगीमा संलग्नता नरहेको जिकिर गरेका छन् । उनले आफ्नो सहकारीमा बचत वा ऋणका लागि कुनै पनि किसिमको खाता नखोलेको बताएका छन् ।
उनको बयान उदृत गर्दै स्रोतले सुनायो, ‘गितेन्द्रबाबु राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले चलाएको ग्यालेक्सी फोरके टिभीमा मलाई सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गर्नका लागि अनुरोध गरेकाले म मासिक पारिश्रमिक लिने गरी उक्त कम्पनीमा गएको हुँ ।’
उनले आफू गोर्खा मिडिया नेटवर्कमा आर्थिक कारोबार हेर्ने व्यक्ति नभएको भन्दै भनेका छन्, ‘म कार्यकारी सञ्चालक पनि थिइनँ, सम्पूर्ण आर्थिक कारोबार गितेन्द्रबाबु राईबाटै चल्थ्यो ।’ उनले आफूले कम्पनी छाड्दा पनि कुनै रकम नलिएको बताएका छन् । सरकारी वकिल कार्यालयका अधिकारीहरुका अनुसार, उनको बयान सकिएपछि प्रमाणीकरण पनि गरिएको छ । लामिछानेलाई अदालतले ८ कात्तिकमा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
आज बिहीबार उनलाई अदालतमा उपस्थित गराउनु पर्ने थियो । तर, अदालत विदा भएकाले लामिछानेलाई २० कात्तिकमा अदालत हाजिर गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागिने जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन् । प्रहरीले रविको मोबाइल पनि फरेन्सिक जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पठाएको छ ।
यही अवधिमा रविलाई पक्राउ गर्न जिल्ला अदालत, रुपन्देहीले पनि अनुमति दिइसकेको छ ।
सुप्रिम सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा पूरक जाहेरी परेपछि उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हो । सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन समितिले रवि प्रबन्ध निर्देशक भएका बेला पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गएको प्रतिवेदन दिएको थियो । लामिछाने नेतृत्वको रास्वपाले भने सभापतिप्रति प्रतिशोध साधिएको दाबी गर्दै प्रदर्शन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस