• २०८१ पौष १९ शुक्रबार
  • Friday, 3 January, 2025

नेता सुटुक्क प्रधानमन्त्री र गृहमन्त्री भेट्न पुगेपछि 'तुहियो' रास्वपाको आन्दोलन

काठमाडौं । कुनैबेला सभापति रवि लामिछाने पक्राउ परेर चितनवमा अनुसन्धानमा रहँदा उठेको आन्दोलनको दबाबका कारण तत्कालिन सरकार उनलाई छोड्न बाध्य भएको थियो । 
तर यसपटक परिदृष्य त्यस्तो देखिएको छैन ।

बरु उल्टै रविलाई राखिएको स्थान पोखरामा गरिएको आन्दोलन छोडेर रास्वपा काठमाडौं छिर्यो । काठमाडौं मात्रै छिरेन प्रधानमन्त्री र गृहमन्त्री भेट्न सिंहदरबार र बालुवाटार नै छिर्यो । केही नेताहरु यसरी सुटुक्का दरबार छिर्दा रास्वपाका नेताहरुकैबीचमा आशंका उत्पन्न भयो । काठमाडौं पनि उनीहरुले सोचेजस्तो आन्दोलन उठ्न सकेको छैन । 
 
उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेटेका थिए । यस विषयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा असन्तुष्टि चुलिएको छ। सोमबार साँझ बालुवाटार पुगेर अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीलाई भेटेका थिए। त्यसअघि अर्यालले गृहमन्त्री लेखकसँग पनि भेटेका थिए। 

१५ दिनदेखि सभापति रवि लामिछाने कास्की जिल्लाको प्रहरी हिरासतमा छन्। राजनीतिक प्रतिशोधका लागि उनलाई थुनिएको भन्दै रास्वपाले विरोध गरिरहेको छ।

कात्तिक १० गते बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापति रहेको आन्दोलन सञ्चालन मूल समिति र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा राजनीतिक नागरिक संवाद समिति बनाएको छ।

अर्याल नेतृत्वको समितिको मुख्य काम नै सरकारलाई दबाब दिन देशका विभिन्न स्थानमा आन्दोलन र प्रदर्शन गर्ने हो। तर उनी उल्टै राजनीतिक समन्वयमा निस्किए ।

अन्य राजनीतिक दलसँग संवादको जिम्मेवारी पाएका डा. वाग्लेलाई छलेर अर्यालले प्रधानमन्त्री र गृहमन्त्री भेटेपछि नेताहरू रुष्ट बनेका हुन्। 

गृहमन्त्री र प्रधानमन्त्रीलाई भेटेको विषय चर्किने देखिएपछि मंगलबार अपरान्ह ४ बजे रास्वपा सचिवालयको बैठक बसेको थियो। समसामयिक एजेन्डा भनेर बोलाइएको बैठकमा केही नेताले सो विषय उठाए । 

पार्टीका दुई जना उपसभापतिमा समन्वय नभएको मात्र होइन, अर्याल हाबी हुन खोजेको असन्तुष्ट नेताहरू आरोप लगाउन थालिसकेका छन्। 
 
तिहार लगत्तै आन्दोलनको थप नयाँ कार्यक्रम बन्ने रास्वपाका नेताहरूकाे दावी छ । तर सुरू भएकाे आन्दोलन बीचैमा नेताहरू दरबार धाउन थालेपछि शंकाका कारणा बिथाेलिएकाले उही रूपमा फेरि आन्दोलन उठ्ने सम्भावना कम देखिएकाे छ।

उता सरकारले सभापति लामिछानेलाई तत्काल छोड्ने सम्भावना छैन । एकमन्त्रीले समाचार दैनिकलाई दिएको जानकारी अनुसार रवि लामो समय थुनामै रहनेछन् ।

उनीमाथि सहकारी ठगीकै अनुसन्धान जारी छ । त्यसपछि संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्दा पनि जोडिएकाले उनी कहिले छुट्छन् भन्न नसकिने उनले बताए ।

यी मध्ये कुनै मुद्दामा रविलाइ दाेषि ठहर गरेर जेल सजाए भएमा रवि चुनावमा उठ्नै नपाउने अवस्था बन्ने सक्ने अड्कलसमेत हुन थालेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर