छठ पर्वपछि रवि लामिछानेलाई बुटवल लैजाने
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल ल्याउने तयारी गरेको छ । उनी कात्तिक २ गतेदेखि सहकारी ठगी मुद्दाको अनुसन्धानकै क्रममा कास्की प्रहरी हिरासतमा छन् ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिएको थियो । तर, तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् । मंगलबार म्याद थप नभएको अवस्थामा सोही दिन र म्याद थप भएमा छठ पर्वपछि बुटवल ल्याउने रूपन्देही प्रहरीको तयारी छ ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैंयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो ।
प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि बुटवल ल्याउने तयारी गरेको हो । बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रूपन्देही पठाइदिन रूपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ । त्यही पत्र अनुसार छठ पर्व सकिएपछि बुटवल ल्याउने तयारी भइरहेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए ।
प्रतिकृया दिनुहोस