अर्घाखाँचीमा देउसीभैलो खेलिरहेकालाई बसले किच्याे, दुईको मृत्यु, ३७ घाइते
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई र घाइतको संख्या ३७पुगेको छ । वडा नं ५ र ६ को सीमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
खिल्जी प्रहरी चाैकी प्रमुख प्रहरी सहायक निरीक्षक साेमप्रसाद पाठकका अनुसार मृत्यु हुने दुई जना दर्शक र घाइते हुने अधिकांश भैलाेमा नाच्ने र गाउने कलाकार छन् । बस चालक अहिले फरार छन् । उनको खाेजीकार्य भैरहेको उनलेे बताए ।
गाउँभरका पाटी, आमा समूह, महिला, युवा समूहको गरि २५ वटा भन्दा बढी समूहमा एकैठाउँमा छुट्टाछुट्टै समुहकाे भैलाे नाचगान भएको चाैकी प्रमुख पाठकले बताए ।
नाचिरहेका कलाकार माथि एक्कासी बसले किचेकाे थियोे । बस अनियन्त्रित भएर आएपछि हल्ला गरेर भागदाैड भएको स्थानीय सुमित्रा खनालले बताइन् । काेही नाच्दै थिए, काेही गाउने र धेरै हेर्ने थिए, रमाइलो गरिरहेकाे बेला एक्कासी मान्छे माथि बस आएपछि धेरैले भागेर ज्यान जाेगाएकाे उनलेे बताइन् ।
बस राेकेर राखेको देखेका थियौं, एक्कासी बस नाच्दै गरेका कलाकार माथि आयो र किच्याे, उनलेे भनिन्, हाेहल्ला गरेर भागदाैड नगरेको भए अझै ठूलाे घटना हुन सक्थ्याे ।
अस्पतालमा उपचाररत घाइते प्रकाश बेल्वासेले भैलाे हेर्दै गर्दा एक्कासी बस मान्छेमाथि आएकाे बताए ।
अर्घाखाँची अस्पतालका सूचना अधिकारी नीम रानाले १० जना गम्भीर घाइतेको बुटवलमा रेफर गरिएको र २७ जनाकाे अस्पतालमा उपचार भैरहेको बताए । घाइतेका हातखुट्टा भाँचिएको, शरिरका विभित्र भागमा घाउ चाेटपटक लागेको उनलेे बताए ।
प्रतिकृया दिनुहोस