कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादीका उम्मेदवार प्रा.डा शिवशरण महर्जन
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र सदस्य पदका उम्मेदवार चयन गरेकाे छ ।
मेयरमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय भएको छ।
सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको स्थानीय पार्टीले जनाएकाे छ । माओवादीले वडानं १ मा अष्टमान महर्जन र वडा नं ४ मा नारायण विष्टलाई अघि सारेकाे छ ।
पार्टी उपाध्यक्ष, प्रवक्ता एवं बागमती प्रदेश इन्चार्ज अग्नि सापकोटाको प्रमुख आतिथ्य बसेको बैठकले चुनावमा पार्टीका सबै जनशक्ति परिचालन हुन आह्वान गरेको छ।
कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएकाले सो स्थान रिक्त छ।
यस्तै क्यान्सरकै कारण कीर्तिपुर-१ का वडाध्यक्ष हीरालाल महर्जनको ०८० फागुनमा तथा मोटरसाइकल दुर्घटनामा परी वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएकाले त्यहाँ पनि उपचुनाव हुँदै छ।
अर्को चुनाव हुन अझै एक वर्षभन्दा बढी समय भएकाले रिक्त स्थानमा निर्वाचन आयोगले उपचुनाव गराउन लागेको हो।
सत्तारुढ दल नेकपा एमालेले भने कीर्तिपुरका लागि यसअघि नै डा. सुरेन्द्र मानन्धरलाई मेयरको उम्मेदवार तोकिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेको छ।
प्रतिकृया दिनुहोस