• २०८१ कार्तिक २२ बिहीबार
  • Thursday, 7 November, 2024

एनपिएलः अभिनेत्री स्वस्तिमा खड्का कर्णाली याक्समा आवद्ध

काठमाडाैं । कलाकार स्वस्तिमा खड्का एनपिएलका लागि फेस अफ कर्णाली याक्सका रुपमा आवद्ध भएकी छन् ।

राजधानीमा बुधवार आयोजित कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रुपमा जोडिन पाउनुलाई सम्मानको रुपमा लिएको बताइन् । उनले समय क्रमसँगै खेलकुदलाई‌ हेर्ने बुझाईमा फरक आएको जानकारी दिइन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लामाे स्टाटस लेख्दै खेलकुदबारेकाे बुझाइमा परिवर्तन भएकाे टिप्पणी गरेकी छन् । उनले कर्णाली यक्समा नै किन जाेडिन पुगिन् भन्ने कुरा पनि खुलाइन ।

स्वस्तिमाले राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को बारेमा फ्रान्सेली नागरिकले तयार पारेको डकुमेन्ट्रीबाट आफूले खेलकुदको व्यापकतालाई अझै गहिरोसँग बुझेको प्रसंग उल्लेख गरिन् ।

‘त्यो डकुमेन्ट्रीमा फ्रान्सेली क्लबका प्रशिक्षकले साम्बाको आगमनपछि सामाजिक सन्जालमार्फत नेपाली भाषामा पनि लेखिन्छ भन्ने थाहा पाएको बताएपछि खेलकुदको माध्यमबाट विश्वव्यापी रुपमा त्यसले पार्ने सक्ने प्रभावका बारेमा बुझ्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘त्यसैले पनि मैले कर्णाली याक्सको प्रस्तावलाई एकै पटकमा स्वीकार गरेकी हुँ।’

खेलकुदको समर्थक हुनका लागि प्राविधिक रुपमा जानकार नै हुनु नपर्ने आफूले समयक्रममा बुझेको पनि स्वस्तिमाले बताइन् ।

उनले भनिन्, केही वर्ष लाग्यो- खेलप्रति मेरो काँचो बुझाइ बिस्तारै पाक्दै गयो । खेलको आयतन मैले सोचेभन्दा कैयन ठूलो र फराकिलो रहेछ । यो ढिलो बुझें तर सही बुझें ।
व्यक्तिको मात्रै होइन, खेलले समाज र राष्ट्रको पनि सशक्तीकरण गर्छ । आफ्नो मुलुकलाई अरू मुलुकसामु ठिंग उभिन सक्ने बनाइदिन्छ । खेल्ने खेलाडी र हेर्ने दर्शकबीचको आत्मीयताले संसारका सबैखाले सीमारेखाहरू मेटिदिन्छ । कीर्तिपुरको टीयू मैदानदेखि टेक्सासको ड्यालस मैदानसम्म झन्डा बोकेर संसार बिर्सिने नेपालीहरू देख्नुभएको छ ? आस्थाका आधारमा अनेक ध्रुवतिर छरिएका (विश्वभरका) नेपालीहरू मैदानमा बज्ने एउटै लय र धुनमा रमाइरहेको देख्नुभएको छ ? भाँचिएका मन जोड्ने माला त्यही खेल नै त रहेछ । मनहरू जोड्ने योभन्दा सशक्त अस्त्र अरू के छ ? त्यसैले त अचेल म चाहे मैदान पुगेर होस्, चाहे स्क्रिनअघि− खेल हेरेर रमाउन थालेकी छु । मन पर्ने टिम र देशले जित्दा खेलाडीहरूसँगै रमाउँछु । हार्दा उनीहरूसँगै उदास हुन्छु । म जानीनजानी खेलसँग त्यसैगरी जोडिएकी छु, जसरी कर्णालीसँग वर्षौंदेखि जोडिएकी छु । मेरो जीवनका असाध्यै निकट सम्बन्धहरू कर्णालीले जन्माएको छ । कलाकारको आँखाबाट हेर्दा पनि कर्णालीको संस्कृति, भाषा, रीतिरिवाजले मलाई सधैं आकर्षित गर्छन् । त्यहाँका पात्रहरूमा अक्सर म आफूलाई पाइरहन्छु । राजनीतिक रूपमा 'हेपिएको' र 'पिछडिएको' विम्ब बोकेर कर्णालीले सधैं आफूलाई लघुताभाषमा लुकाइरह्यो । तर, अहिले कर्णाली मुलुकको मानचित्रमा आफ्नै पौरख बोकेर ठिंग उभिएको छ । जसरी नेपाली टोली अस्ति अमेरिकाको मैदानमा उभिएको थियो ।'

जुम्लाको अगल सम्यता, सस्कृति र पहिचानबाट आफू सधै प्रभावित रहेको जनाउँदै उनले मौकाका‌ लागि कर्णाली याक्सलाई धन्यवाद दिइन् ।

कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले स्वस्तिमालाई कर्णाली याक्सको हिस्सा भएकोमा स्वागत गर्दै धन्यवाद दिए।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा‌ कर्णाली सहित ८ टोलीको सहभागिता छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर