कक्षा ११ र १२ छाडेका १४ लाख विद्यार्थीलाई मौका परीक्षा
काठमाडाैं । कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा फेल भएका २०५६ सालदेखि र स्नातक तहमा फेल भएका २०५८ सालदेखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । आगामी मंसिर २७ सम्म आवेदन फाराम बुझाउन सकिने बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने बताए ।
जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने उनले जनाए । बोर्डका अनुसार कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको संख्या १४ लाख छ । जुन अहिलेको विद्यार्थी संख्या हेर्दा कक्षा १२ को तीन ब्याचभन्दा पनि बढी हुन्छ । आवेदन फाराम भर्ने विद्यार्थी संख्याका आधारमा परीक्षा तालिका सार्वजनिक गरिने शर्माले बताए ।
अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण, अनुपस्थित वा अक्षराङ्कन (ग्रेडिङ) पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अन्तिम एक पटकका लागि परीक्षामा सहभागी हुन पाउने अवसर दिन लागिएको बोर्डले जनाएको छ । सम्बन्धित विद्यालय/क्याम्पसले आफ्ना विद्यार्थीहरूको परीक्षा आवेदन फाराम संकलन गरी बोर्डमा बुझाउन आग्रह गरिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि सबै मौकामा आवेदन दिन सक्नेछन् ।
बोर्डले अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थीले कक्षा ११ र १२ मा बढीमा सय/सय गरी कुल दुई सय पूर्णाङ्कको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । एक संकायको विद्यार्थीले अर्को संकायका विषयमा समेत परीक्षा दिन पाउने बोर्डले जनाएको छ । पुराना विद्यार्थीको परीक्षा पुरानो पाठ्यक्रमअनुसार नै सञ्चालन हुने र पूर्णाङ्कसमेत साविक बमोजिम नै हुने बोर्डले जनाएको छ ।
त्यस्तै यसअघि त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको थियो । शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा असोज पहिलो साता बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।
प्रतिकृया दिनुहोस