• २०८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024

तेस्रो दिन आज पनि भैरहवामा रविको बयान हुने

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुर अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको बयान बिहीबार पनि हुने भएको छ । मंगलबार र बुधबार गरी १३ घण्टाभन्दा बढी लगाएर लिइएको बयानका क्रममा उनले बुटवलको सुप्रिम सहकारीबाट आफ्नो नाममा प्रवाह भएको ऋणबारे अनभिज्ञता व्यक्त गरेका छन् । 

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेसँग बुधबार बिहान सवा १० बजेदेखि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको थियो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले बुधबार ८ घण्टाभन्दा बढी समय बयान लिएको थियो । बयानका क्रममा दुई दिनमा गरी ५० भन्दा बढी प्रश्न सोधिएको र यसअघि नै तयार गरिएका झन्डै १५ प्रश्न सोध्न बाँकी रहेको अनुसन्धान अधिकारीहरूले जनाएका छन् ।

जिल्ला सरकारी कार्यालयका न्यायाधिवक्ता पौडेलले सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरकै विषयमा लामिछानेसँग सवालजवाफ भइरहेको बताए । ‘हामीले सहकारी ठगी र संगठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू गरेका छौं,’ उनले भने, ‘बिहीबार पूरक प्रश्नहरू धेरै नभए बयान सकिन्छ ।’ लिइएको बयानको रुजु बाँकी रहेको उनले जानकारी दिए ।

मंगलबार बयान सकेर निस्किने क्रममा सरकारी वकिल कार्यालयबाटै लामिछानेले ‘बाघ खोरमा थुनेर स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएका कारण बुधबार भने बयानका लागि लैजाने क्रममा प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको थियो । लामिछानेलाई भित्र लैजाने र निकाल्ने बेला सरकारी वकिल कार्यालयमा माथिल्लो तलाको बरन्डामा समेत प्रहरी सुरक्षा घेरा बनाइएको थियो । लामिछानेलाई बुधबार पनि जिल्ला प्रहरी कार्यालयको छुट्टै हिरासत कक्षमा राखिएको छ ।

बुटवल उपमहानगरपालिका–९ मा कार्यालय रहेको सुप्रिम सहकारीबाट लामिछानेका नाममा २०७७ चैत १८ मा २ करोड ऋण प्रवाह भएको थियो । सहकारी संस्थाले सेवाशुल्क काटेपछि १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडियामा जम्मा गरिएको थियो । लामिछाने र रोशनी गुरुङका नामबाट छुट्टै १ करोड रुपैयाँ पनि ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा गरिएको थियो । ऋण प्रवाह भएका बेला लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए ।

प्रहरीले अहिले तयार गरिरहेको पूरक अभियोगपत्रमा लामिछानेका नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेको उल्लेख छ । गुल्मीको मालिका गाउँपालिका–८ घर भएका केसी फरार छन् । बयानका क्रममा भने लामिछानेले केसी र रोशनी गुरुङ दुवैलाई नचिनेको दाबी गरेका छन् ।

सुप्रिम सहकारीकी कर्मचारी गुरुङ यसअघि नै जिल्ला अदालतको आदेशले धरौटीमा रिहा भएकी छन् । सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोडमध्ये झन्डै ७८ करोड रुपैयाँ अनियमित तबरले विभिन्न संघसंस्थामा लगेर खर्च गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर