आज पहिलाे पटक बंगलादेशमा ४० मेगावाट बिजुली निर्यातः प्रचण्डले व्यक्त गरे खुसी

काठमाडौँ  ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित भएको उल्लेख गर्दै अध्यक्ष ‘प्रचण्ड’ले अघिल्लो जेठमा प्रधानमन्त्रीका रुपमा भएको आफ्नो भारत भ्रमणका क्रममा नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात गर्नका लागि भारत सरकार सहमत भएको बताए । 

'आज पहिलो पटक नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ । २०८० जेठमा प्रधानमन्त्रीको रुपमा भएको मेरो भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न दिन भारत सरकार सहमत भएको थियो ।  त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्दै आज बङ्गलादेशमा विद्युत् निर्यात हुन थालको हो । विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,' ‘प्रचण्ड’ले भने ।

 नेपाल विद्युत् प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरेको छ ।

विद्युत् व्यापारको इतिहासमा नेपालको बिजुली भारतपछि अर्को देश पुग्न लागेको हो । भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले विद्य्ुत् निर्यात गरेको हो ।

 विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको थियो ।

 सम्झौताअनुसार हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ । सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पु-याउनेछ ।

नेपालबाट भारत हुँदै बंगलादेशतर्फ विद्युत् निर्यात मध्यान्ह साढे १२ बजेबाट सुरु भएको हो। यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुत्रबार राति १२ बजेसम्म मात्र हुनेछ। त्यसपछि आगामी वर्ष सन् २०२५को जुन १५बाट बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुनेछ। 

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो। केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाहरुबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बंगलादेश निर्यात स्वीकृति दिएको हो। यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरुसमेत हुन्। 


नेपाल विद्युत प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ। नेपाल–बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ। प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउनेछ। नेपालले विद्युत् बिक्रीबाट पहिलोपल्ट डलरमा आम्दानी गर्न लागेको हो। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ। 

प्राधिकरणले शुक्रबार साढे ११ घण्टा बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात २८ हजार १६० डलर (३७ लाख ९३ हजार ४३३ रुपैयाँ) पाउने छ। बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा पाउने छ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ।

मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने  छ।  नेपालबाट ४० मेगावाट विद्युत भारतीय प्रसारण ग्रिड प्रयोग गरी बंगलादेश लैजानका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन, भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बीपीडीबी)बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको थियो।

त्रिपक्षीय विद्युत् बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बंगलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाएको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत् निर्यात सुरु गरिएको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर