साेमत घिमिरेकाे पुस्तक विमाेचन गर्दै प्रचण्डले भनेः नक्कल गरेर समाजवाद आउँदैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नभएकाे टिप्पणी गरेका छन् ।
याे जगबाटै उमार्नु पर्ने विषय भएको नउले बताए । राजनीतिक तथा सामाजिक विषयमा कलम चलाउने लेखक सोमत घिमिरेकाे पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रमलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवाद नक्कल गर्ने विषय पनि नभएको बताए ।
‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर प्रतिक्रान्ति गर्ने सपना पनि देखिरहेका छन् । त्यसैले दुबैतर्फ सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
‘समाजवाद नक्कल गरेर, कुनै पार्टी विशेषले दस्ताबेजमा लेखेर आउने होइन जगबाटै उमार्ने र निर्माण गर्न कुरा हो’, प्रचण्डले भने– ‘उत्पादन पद्धतिबाट, समाज, भूगोल, संस्कृति, अर्थतन्त्रका ऐतिहासिकताबाट समाजवाद उमार्ने हो ।’
उनले नेपाल कुनै बेला विदेशमा खाद्यान्न निर्यात गर्ने देशका अवस्थामा चिनिए पनि विगत ५०, ६० वर्षको राजनीतिले हरेक क्षेत्रमा परनिर्भर बन्नुपर्ने अवस्था आउनु दुःखद रहेको बताए । ‘हरेक विषयको नक्कल गरेर होइन, हाम्रै जग, विशेषता र इतिहासमा हाम्रा पुर्खाले विकास गरेको प्रविधि र अर्थतन्त्रको जगमा टेकेर आधुनिक समाजवादको निर्माण गर्नुछ’, प्रचण्डको भनाइ छ ।
उनले समाजवादप्रति आस्था राख्ने सबैलाई घिमिरेको पुस्तक पढ्न र चिन्तन मनन गर्न विशेष अपिल गर्दै उक्त पुस्तकले समाजवादबारे नयाँ बहस सुरु गरेको बताए । ‘समाजमा समाजवादबारे तीन धारणा रहेका छन् । एउटा विशुद्ध सिद्धान्तवादी धर्मशास्त्रको रूपमा बुझ्ने । दोस्रो अनुभववादी तरिकाले हेर्ने । र तेस्रो व्यवहारवादी धारणा’, प्रचण्डले भने– ‘त्यसमध्ये आफू र सोमत घिमिरेले भनेको तेस्रो धारणा हो ।’
कार्यक्रममा प्रचण्डले भ्रष्टाचारविरुद्ध देशव्यापी चलाउन जरुरी रहेको र त्यसको नेतृत्व गर्न आफू तयार रहेको पनि बताए । कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नेता र पार्टीहरूले सत्तामा जाँदा इतिहास भुल्ने गरेकाले नेपाल र नेपालीले अहिले दुर्दशा भोग्नुपरेको बताए ।
‘हामी राजनीतिज्ञ, कर्मचारी र उद्योगपति सबैले अप्ठेरोमा यो देशलाई पारेका छौ’, उनले प्रचण्डलाई जनताको कल्याण र हितका निम्ति बोल्न आग्रह गर्दै नेपालमा १०१ जना भन्दा बढीको संसद् आवश्यक नभएको बताए । ‘यो संसद् र मन्त्री सङ्ख्या घटाउने र मुलुकको पैसा विकासमा लगाउने गर्नुपर्छ ।’
कार्यक्रममा रास्वपाका प्रमुख सचेतक समेत रहेका सन्तोष परियारले पुँजीवाद चरम सङ्कटमा परेको बताए । उनले विश्वमा पुँजीवाद चरम सङ्कटमा परे पनि कसैले भन्न नसकेको बताए । ‘हामीले त्यसलाई सङ्कट भन्न सकेका छैनौ । तर सोमत घिमिरेले पुस्तकमा तर्क र तथ्यसंगत पुँजीवाद निर्मम र हिंस्रक छ भनेर भन्नुभएको छ’, परियारको भनाइ छ ।
‘मदाने बुक्स’ द्वारा प्रकासित पुस्तकमा घिमिरेले समाजवादका लागि नेपाली विशेषताहरुको बृहत व्याख्या गरेका छन्।
आठ खण्ड रहेको पुस्तकको पहिलो खण्डमा घिमिरेले नेपालका सामूदायिक अभ्यास, सामूदायिक व्यवस्थापन समाजवादका लागि किन र कसरी सहयोगी सिद्ध हुनसक्छ, त्यसको चर्चा गरेका छन्। दोस्रो र तेस्रो खण्डमा उनले समाजवादका लागि संघीयताको सबलीकरणमा जोड दिएका छन्।
पहिचानको मुद्दालाई सम्बोधन गर्ने हो भने नेपालको संविधानले परिकल्पना गरेको संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र, विशेष क्षेत्रको निर्माण गर्नुपर्ने उनको भनाई छ।
यसैगरी नेपाली समाजको सांस्कृतिक विविधतालाई स्वीकार गरी सामूदायिक–सांस्कृतिक भावनाअनुसार प्राकृतिक स्रोतको व्यवस्थापन, प्राकृतिक स्रोतको उत्पादनशीलता, उद्यमशीलतामार्फत् रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको सबलीकरण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
स्थानीय सरकारको ठूलो भूमिका संघीय राज्य व्यवस्थापनका लागि महत्त्वपूर्ण हुने र प्रादेशिक स्वायत्ततालाई व्यवस्थापन गरी स्थानीय सरकारको सवलीकरण गर्नुपर्ने बताउँछन् घिमिरे।
प्रतिकृया दिनुहोस