सडकमा फोहोर गर्ने एमालेलाई बालेनले गराए एक लाख जरिवाना
काठमाडौँ । जागरण सभाका कारण सडकमा फोहोरमैला सिर्जना गरी प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।
सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेले शुक्रबार काठमाडौँ उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गस्थित सडकमा जागरण सभा आयोजना गरेको थियो ।
सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । सभा सकिएलगत्तै काठमाडौँ महानगरपालिकाले जागरण सभाका कारण सार्वजनिक स्थान सडकमा फोहोरमैला भएको र त्यहीकारण प्रदूषण फैलाउन मद्दत पुगेको भन्दै एमालेलाई पत्राचार गरेको छ ।
महानगरपालिकाको नगर प्रहरीका निरीक्षक लिलाराज गाछाद्वारा हस्ताक्षरित एमाले केन्द्रीय कार्यालयलाई सम्बोधन गरेर लेखिएकोमा पत्रमा कानूनबमोजिम एक लाख रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ ।
'मंसिर ७ गते काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,' महानगर प्रहरीका निरीक्षक गाछाले पत्रमा लेखेका छन् ।
महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा ऐनविपरीत गर्नेहरूलाई यसअघि पनि जरिवाना गर्दै आएको छ ।
यसबारे जिज्ञासा राख्दा महानगरपालिकाका एक कर्मचारीले भने, 'महानगरपालिकाले कानूनबमोजिम सर्वसाधारणलाई पनि यसअघि नै यही रकम बराबर कारबाही गरेको छ । अस्पताल र अन्य व्यापारिक प्रतिष्ठानहरूलाई पनि कारबाही गरेको छ । त्यहीअनुसार कानूनको कार्यान्वयन गर्ने हेतुले गरिएको जरिवाना मात्रै हो ।'
ती कर्मचारीका अनुसार कानूनबमोजिम एमाले केन्द्रीय कार्यालयलाई पत्राचार गरी जरिवाना तिर्न भनिएको हो ।
प्रतिकृया दिनुहोस