• २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024

ओलीलाई प्रचण्डले सम्झाए आफ्नो पहिलो चीन भ्रमण र सत्ताच्यूत हुनुपरेको प्रशंग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमण गरेको आफ्नो पहिलो कार्यकाल सम्झाएका छन् ।

आज प्रधानन्त्री ओलीले आयोजना गरेको पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुबीचको सामूहिक छलफलमा अध्यक्ष प्रचण्डले उक्त प्रशंग सुनाए । 

आफू पहिलो पटक प्रधानमन्त्री बनेको बेलाका प्रसंग निकाल्दै अध्यक्ष प्रचण्डले भनेका कुरा उद्धृत गर्दै प्रधानमन्त्रको सचिवालय स्रोतले भन्यो, ‘तपाईंहरू सबैले बुझ्नु भएकै छ, परम्परादेखि चल्दै आएको पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको हुँ।’

केही समयअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका थिए।

नेपालका प्रधानमन्त्रीको पहिलो वैदेशिक भ्रमण भारत हुनुपर्ने आसयको प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर आलोचनासमेत भयो।

छलफलमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि नेपालका प्रधानमन्त्रीले कुन देशबाट भ्रमण सुरू गर्ने भन्ने कुरालाई ठूलो ठान्न नहुनेमा जोड दिए। ‘कुन देशको भ्रमण पहिले गर्ने भन्ने टन्टाबाट हामी मुक्त हुनुपर्‍यो,’ प्रधानमन्त्री ओलीलाई लक्ष्य गर्दै उनले भने, ‘जुन देशबाट पहिले भ्रमणको निम्तो आउँछ त्यहीँ जाने हो।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका प्रधानमन्त्रीले कुन देशबाट भ्रमण सुरू गर्ने भन्ने परम्परा बनाउन नहुने बताएका हुन्।

‘नेपालको प्रधानमन्त्रीले वैदेशिक भ्रमण सुरू गर्दा कुनै एक देशबाट त सुरू गर्नुपर्‍यो, यही देशबाट भ्रमण सुरू गर्नुपर्छ भनेर परम्परा बनाउन हुँदैन,’ उनले भने, ‘यस्तो चर्चा सधैंका लागि बन्द गर्नुपर्छ। सार्वभौम देशका प्रधानमन्त्रीले पहिले जुनसुकै देशको भ्रमण गर्न सक्छ।’

पूर्वपरराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनीले कुन देशबाट प्रधानमन्त्रीले भ्रमण सुरू गर्ने भन्नेमा चर्चा गरिराख्नु नपर्ने बताए। ‘यो विषय कुनै परम्परा भन्ने कुरा पनि होइन,’ उनले भने, ‘जसले पहिले निम्तो दिन्छ, उही देशमा भ्रमण गर्ने हो।’

पूर्वपरराष्ट्र मन्त्री भेषबहादुर थापाले पनि भ्रमण कुन देशबाट सुरू गर्ने भन्ने कुरा पुरानो भइसकेको बताए। ‘भ्रमण कुन देशबाट गर्ने भन्ने कुरा पुरानो भइसक्यो, यस्ता विवादमा देशलाई अल्झाउने काम कसैले नगरौं,’ थापाले भने।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिआरआई परियोजनाबाट नेपालले लाभ लिन सक्ने बताए। ‘बिआरआईबाट हाम्रो मुलुकले पनि लाभ लिनुपर्छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो प्रोजेक्ट नेपालको हितविरूद्धमा छैन।’

एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालले बिआरआई चिनियाँ प्रोजेक्ट मात्र नभई १४३ मुलुकमा यो प्रोजेक्ट पुगेकोले ग्लोबल प्रोजेक्टका रूपमा लिनुपर्ने बताए।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नै जनकपुर पुगेर चीनबाट ऋण लिन नसकिने तर अनुदान दिने भए स्वीकार्य रहेको अभिव्यक्ति दिएका थिए।

‘ऋण नलिने, तर अरू अनुदान लिन हामी तयार छौं,’ देउवाले भने।

पूर्वपरराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनीले ठूला देशहरूसँगको कुटनीतिमा नेपालले जहिले पनि विश्वास कायम राख्न सक्नुपर्नेमा जोड दिए।

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले यसअघि चीन भ्रमणमा जाँदा गरेका सम्झौताहरू कार्यान्वयनमा जोड दिए।

सबैका कुरा सुनेका प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेला ऋण लिने सम्झौता भने नगरिने प्रष्ट पारेका थिए।

यस पटकको चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने प्रधानमन्त्रीको भनाइ छ। चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको पनि उनले बताए। 

उनले पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राखिने प्रष्टाएका छन्।

नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने उनको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर