• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने: माओवादीलाई नेकपा एस र रास्वपाकाे साथ !

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच कडा प्रतिस्पर्धा हुने अनुमान स्थानीयले गरेका छन् ।

कीर्तिपुर नगरपालिका प्रमुख पदमा कांग्रेसबाट नगर समितिका सभापति कृष्णमान डंगोल, एमालेबाट केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १० का अध्यक्ष डा. सुरेन्द्र मानन्धर र माओवादीबाट प्राडा. शिवशरण महर्जन उम्मेदवार छन् । एमालेका मानन्धर १० बुंदे सम्झाैता पक्षधर भएकाले ओली पक्षकाे पूर्ण साथ नरहेकाे टिप्पणी सुरू भएकाे छ ।  तीन जनामध्ये मानन्धर ३ नम्बर वडाका बासिन्दा हुन् । महर्जन वडा नम्बर १० र डंगोल वडा नम्बर २ का बासिन्दा हुन् ।

यसपटक प्रमुख तीन दलले नै राम्रा र क्षमतावान व्यक्तिलाई उम्मेदवार बनाएकाले कडा प्रतिस्पर्धा हुनसक्ने स्थानीयवासी बताउँछन् । यद्यपि एमालेका उम्मेदवार मानन्धरको उपस्थिति कांग्रेसका लागि महँगो पर्न सक्ने उनीहरूको बुझाइ छ ।

नेकपा एकीकृत समाजवादीका कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार भानु रिजालले अन्ततः उम्मेदवारी निष्क्रिय पारेका छन् ।

रिजालले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्ने जनाएका छन् । उनले महर्जनलाई जिताउनका लागि उर्दी समेत लगाएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रिजाललाई यसअघि नै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए तर, रिजालले फिर्ता लिएका थिएनन् । मनोनयन दर्ता समेत गरिसकेका रिजालले मङ्गलबार उम्मेदवारी निष्क्रिय पारेका हुन् । 

२०७९ को निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादीका उम्मेदवार प्राडा. शिवशरण महर्जनले समेत उल्लेख्य मत बढाउन सक्ने अनुमान गरिएको छ । अझ माओवादी उम्मेदवारलाई एकीकृत समाजवादी, नेकपाकाे घाेषित तथा रास्वपाकाे अघाेषित साथ रहेकाले उनकाे पल्लाभारी हुने कतिपयकाे अनुमान छ । 

स्वतन्त्र उम्मेदवारहरू नवरथकुमार बानिया, राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी लगायतको उपस्थितिले चुनावी प्रतिस्पर्धा कडा र रोचक हुन सक्ने स्थानीयको बुझाइ छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेको गढ भत्काउँदै कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी निर्वाचित भएका थिए । नकर्मी ९०४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले ५५०७ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले ४०९० मत पाएका थिए । 

अघिल्लो निर्वाचनमा एमाले पार्टी विभाजनको फाइदा कांग्रेसले उठाएको एमालेका नेताहरूको भनाइ छ । त्यतिबेला नेकपा एकीकृत समाजवादीले वटुककृष्ण थापालाई प्रमुख पदमा उम्मेदवार बनाएको थियो । तर उनले जम्मा ११५३ मत पाए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर