कीर्तिपुरमा एकीकृत समाजवादीका उम्मेदवारले गरे माओवादी उम्मेदवारलाई समर्थन
काठमाडौं । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार भानु रिजालले माओवादीलाई समर्थन गर्ने जनाएका छन् । उनले आफ्नो उम्मेदवारी निष्कृय रहेको र माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै रिजालले मंसिर १६ मा हुने कीर्तिपुर नगरपालिका मेयरको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार महर्जनलाई समर्थन गर्न आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा गरेका छन् ।
'मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि मैले उम्मेदवारी दिएकामा पार्टी केन्द्रको निर्णयबमोजिम मेरो उम्मेदवारी निष्कृय गरेको छु,' रिजालले विज्ञप्तिमा भनेका छन् । 'कीर्तिपुर नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्राडा शिवशरण महर्जनलाई मतदान' गर्न पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार रिता खड्कालाई मतदान गर्न पनि रिजालले विज्ञप्तिमा लेखेका छन् ।
कीर्तिपुरको उपनिर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । माओवादीबाट मेयर उम्मेदवार र वडा नम्बर ४ को अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार छन् ।
प्रतिकृया दिनुहोस