• २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024

जम्बो टोली लिएर चीन जाँदै ओली, एजेण्डामा कांग्रेसँग अझै कुरा मिलेन

काठमाडौं । एजेण्डामा सत्ताको प्रमुख साझेदार नेपाली कांग्रेसँग अझै एकरुपता हुन नसकेपनि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण गर्ने  जम्बो टोली भने तयार भएको छ । 

ओली नेतृत्वको प्रतिनिधिमण्डलको चीन भ्रमण तालिका स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । 

भ्रमण टोलीमा सरकारीतर्फ ३९ जना र निजी ४८ गरी  ८७ सदस्यीय सदस्य सहभागी छन् । 

सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्र प्रसाद महतो, दीपक कार्की, सर्वेन्द्र नाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृत बहादुर राई (परराष्ट्र कामु सचिव) रहेका छन् । 

यसैगरी लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्ण प्रसाद ढकाल, विष्णु प्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह रहनेछन् । 

यस्तै परराष्ट्र मन्त्रालय अन्तरगतका ७ जना भने यसअघि नै चीन गइसकेका छन् । यसबाहेक ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मंसिर १८ गते भेटवार्ता गर्नेछन् । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ । 

यसैबिच चीनसँग प्रधानमन्त्रीकाे भ्रमणमा गर्ने सहमति तथा समझदारीका एजेण्डामा भने अझै एकमत हुन सकेकाे छैन । सत्ता गठबन्धनमा कांग्रेसले चीनले पठाएकाे समझदारी पत्रकाे शीर्षकसहति परिवर्तन गर्नुपर्ने अडान राखेकाे छ भने एमालेले अन्तरवस्तुमा परिवर्तन गरेपनि शीर्षकनै फेर्दा प्रधानमन्त्रीकाे चीन भ्रमणनै असहज हुने तर्क गरेकाे छ । प्रधानमन्त्रीकाे भ्रमणकाे मिति नै नजिकिइसकेपनि मुद्दामा कांग्रेस एमाले एकमत हुन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर