• २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024

दक्षिण कोरियाली राष्ट्रपतिमाथि विदेश यात्रामा प्रतिबन्ध 

एजेन्सी । दक्षिण कोरियाली अधिकारीहरूले सोमबार राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध लगाएका छन् ।

भ्रष्टाचार अनुसन्धान निकाय प्रमुखले राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाउन आदेश दिएको योनहाप समाचार संस्थाले जनाएको छ । 

दक्षिण कोरियाको कानुन मन्त्रालयअन्तर्गतको आप्रवासन सेवा आयुक्त बेइ साङ-अपले संसदीय सुनुवाईका क्रममा पनि राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाइएको बताएका छन् ।

युनसँगै उनको प्रशासनका थुप्रै उच्च अधिकारीमा पनि यात्रा प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति युनले गत साता अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेपछि उनीमाथि छानबिन भइरहेको छ ।

युनले घोषणा गरेको सैनिक शासन केही घण्टामा नै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि युनले आफ्नो कदम फिर्ता लिएका थिए ।

त्यसलगत्तै युनविरुद्ध विपक्षी दलका सांसदहरूले संसद्मा महाभियोग प्रस्ताव पेश गरेका थिए । तर उनको दल पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले गत आइतबार भएको महाअभियोगमाथिको मतदान बहिस्कार गरेका थिए ।

जसका कारण उनी महाभियोगबाट जोगिएका थिए । यद्यपि, विपक्षी पार्टीहरूले यसै हप्ता उनका विरुद्ध नयाँ महाभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा छन् ।

मार्सल लको घोषणापछि दशौं हजार दक्षिण कोरियालीहरू प्रदर्शनमा उत्रिएका थिए । पीपीपीले भने पार्टी नेता र प्रधानमन्त्रीले राष्ट्रपति युनको व्यवस्थित रूपमा पदत्याग नभएसम्म देश सञ्चालन गर्ने बताएका छन् ।

पीपीपी नेता हान दोङ–हुनले आइतबार सार्वजनिक सम्बोधन गर्दै, राष्ट्रपति युनले राजीनामा नदिएसम्म विदेशी र घरेलु मामिलामा संलग्न नहुने बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर