• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

नेकपा एसमा हारेका नेता स्थायी कमिटीमा थपिदै

काठमाडौं । नेताहरुको कार्य विभाजनमा कुरा नमिलेपछि स्थगित भएको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज (शुक्रबार) बस्दैछ । 

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने नेताहरुले बताएका छन् ।

आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन टुंग्याउने दाबी गरिएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्य विभिाजनका प्रस्तावमा छलफल गरेर निर्णय गर्ने बैठकको तयारी छ। 

गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको छैन । नेताहरूलाई पद पुर्‍याउन २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने गृहकार्य भएको छ ।

पार्टीभित्र नेताको व्यवस्थापन गर्न नेतृत्वलाई सकस भएको देखिन्छ । 

शुक्रवार (आज) बस्ने स्थायी कमिटी बैठकमार्फत स्थायी कमिटी सदस्य संख्या बढाउने औपचारिक निर्णय गर्न लागेको सो पार्टीका नेताहरूले बताएका छन् ।

दशौं महाधिवेशनअघि स्थायी कमिटी सदस्य रहेका र दशौँ महाधिवेशनमा पोलिटब्युरो सदस्य भएकाहरूलाई स्थायी कमिटीमा ल्याउने गरी मापदण्ड बनेको नेता प्रकाश ज्वालाले जानकारी दिए । 

यसो गर्दा रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामचन्द्र झा,डा विजय पौडेल, बलराम बास्कोटा, उर्वादत्त पन्त,विश्वनाथ प्याकुरेल र साध्यबहादुर भण्डारीलगायतका नेता स्थायी कमिटी सदस्यमा बढुवा हुनेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर