सुदुरपश्चिमले जित्यो टस, खेल कसले जित्छ ?
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टसमा भाग्यमानी देखिएकाे छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए ।
दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो ।
सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनको झिनो स्कोरमा समेटिएको थियो । लिग चरणमा शीर्ष दुईमा रहेका यि दुवैले पहिलो क्वालिफायर खेलेका थिए ।
बुधवारको पहिलो क्वालिफायरमा यि आमनेसामने भएका थिए । पहिलो क्वालिफायरमा पनि जनकपुरमाथि हाबी सुदूरपश्चिमले ८ विकेटको फराकिलो जित हात पारेको थियो ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो ।
दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।
जनकपुरले फाइनल खेलमा पनि बिहीवार कर्णालीविरुद्धको दोस्रो क्वालिफायरमा खेलाएको टोली नै मैदान उतारेको छ ।
जनकपुर बोल्ट्सको प्लेइङ-११
आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, मयन यादव, किशोर महतो र ललित राजवंशी।
सुदूरपश्चिमले पनि पहिलो क्वालिफायरमा जनकपुरविरुद्ध खेलाएको टिमलाई निरन्तरता दिएको छ ।
सुदूरपश्चिम रोयल्सको प्लेइङ-११
दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर।
प्रतिकृया दिनुहोस