• २०८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024

उपाधि जित्न जनकपुरले पायो १८५ रनको विशाल लक्ष

काठमाडौं । एनपीएल क्रिकेटको उपाधिका लागि जनकपुर बोल्टसले विशाल लक्ष पाएको छ । 

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

लिगमा दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यस समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अनितम बलमा जेब बाउन्ड्रि नजिकै ललितनारायण राजवंशीबाट समातिए ।

पहिलो विकेटका लागि जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपुर्ण साझेदारी गरे । जैब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।

हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए ।

१ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।

कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।

यस संस्करणमा लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो ।


सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनको झिनो स्कोरमा समेटिएको थियो । लिग चरणमा शीर्ष दुईमा रहेका यि दुवैले पहिलो क्वालिफायर खेलेका थिए ।

बुधवारको पहिलो क्वालिफायरमा यि आमनेसामने भएका थिए । पहिलो क्वालिफायरमा पनि जनकपुरमाथि हाबी सुदूरपश्चिमले ८ विकेटको फराकिलो जित हात पारेको थियो ।

पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।

एनपिएल विजेता टिमले आकर्षक ट्रफी सहित १ करोड १० लाख रुपैयाँ पाउँने छ । दोस्रो टोलीले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर