श्रीमती सहकारी ठगीमा मुछिएका लेखा समितिका सभापतिको माओवादीले माग्यो राजीनामा
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पदबाट राजीनामा गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले माग गरेको छ ।
लेखा समितिको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले पदबाट राजीनामा गर्न भनेका हुन् ।
सार्वजनिक रूपमा प्रश्न उठिसकेको व्यक्ति लेखा समितिको सभापति पदमा बसिरहन नमिल्ने मोदीको भनाइ थियो । 'सहकारीका बारेमा तपाईंको परिवार र तपाईंमाथि पनि प्रश्न उठिरहेको छ । सरकारका काम-कारबाहीलाई चेक एन्ड ब्यालेन्स गर्नुपर्ने समितिकै सभापतिमाथि प्रश्न उठेपछि तपाईंले केही न केही त बोल्नुपर्ने हुन्छ, जवाफ दिनुपर्ने हुन्छ,' उनले भने ।
सार्वजनिक लेखा समितिलाई सरकारको छाया बनाइएको पनि मोदीको भनाइ थियो । 'सरकारको छाया सार्वजनिक लेखा समिति त होइन भन्ने प्रश्न उठिरहेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीको सभापति हुनुहुन्छ । यसबारेमा पुनर्विचार गर्नुपर्ने हुन्छ । तपाईंले मार्ग प्रशस्त गरिदिए राम्रो,' उनले भने ।
संसद्को सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलको नेतालाई दिनुपर्ने पनि मोदीको भनाइ थियो ।
'तपाईंको परिवारका बारेमा प्रश्न उठेको छ । तपाईंबारे पनि प्रश्न उठेको छ । सकारको नेतृत्व गरिरहेको दलको हुनुहुन्छ र लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने हुन्छ,' उनले भने ।
‘सभापतिले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ,’ उनले भने। साथै सांसद मोदीले सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने अभ्यसा रहेको पनि बताएका थिए।
यसअघि गत पुस ४ गते माओवादी कोशी प्रदेश समितिले पनि लेखा समिति सभापतिको राजीनामा माग गरेको थियो।
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक लेखा समिति सभापति पोखरेलले पदबाट राजीनामा गर्नुपर्ने माग गरेका थिए।
प्रतिकृया दिनुहोस