• २०८१ पौष १८ बिहीबार
  • Thursday, 2 January, 2025

बामदेव नेकपा एसको वरिष्ठ नेता बन्ने पक्का

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । उनी एकीकृत समाजवादीमा वरिष्ठ नेता हुनेछन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि उनी तेस्रो वरीयतामा रहने भएका हुन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको वरीयता चौथो हुनेछ । 

गौतमले पछिल्लो समय ‘जसले अध्यक्ष पद दिन्छ, म त्यतै जान्छु’ भन्दै आएका थिए । उनले कहिले एमाले अध्यक्ष केपी शर्मा ओली, कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग संवाद गर्दै आएका थिए । पछिल्लो समय एकीकृत समाजवादीसँग औपचारिक–अनौपचारिक वार्तापछि उनी वरिष्ठ उपाध्यक्ष बन्न तयार भएका हुन् ।

गौतम अहिले राष्ट्रिय सभा सदस्य छन् । तत्कालीन नेकपा सरकार (ओली नेतृत्वको मन्त्रिपरिषद्) को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई २०७७ असोज १ मा राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी थिइन् । गौतमले २०७८ भदौ १८ मा गौतमले एमाले छाडेका थिए । त्यसपछि उनले नेकपा एकता अभियानसमेत चलाएका थिए । २०७९ को आम निर्वाचनमा गौतमले एकीकृत समाजवादीको चुनावी गीत लेखेका थिए ।

एकीकृत समाजवादीको महाधिवेशनले पारित गरेको ‘नेपाली विशेषताको समाजवादी कार्यक्रम’ मान्न सहमत भएपछि गौतमको पार्टी प्रवेश सुनिश्चित भएको नेताहरूले बताएका छन् । एकीकृत समाजवादीको गत असारमा भएको महाधिवेशनले नेपाली विशेषतायुक्त वैज्ञानिक समाजवादको कार्यदिशा पारित गरेको थियो । ‘पार्टीको नाम एकीकृत समाजवादी र महाधिवेशनले पारित गरेको विचार र सिद्धान्तमा तलमाथि हुँदैन,’ एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले भने ।
 
गौतम वरिष्ठ उपाध्यक्ष हुन तयार भए पनि उनीसँग रहेका नेताहरूको कार्यविभाजनका विषयमा छलफल भइरहेको उपाध्यक्ष भुसालको भनाइ छ ।

‘वामदेवजीको नेकपा एकता अभियान नेकपा एकीकृत समाजवादीमा समाहित हुने भन्ने छ, नेताहरूको व्यवस्थापन टुंगो भएपछि उहाँको टिम एकीकृत समाजवादीमा समाहित हुन्छ,’ उनले भने, ‘वामदेवजीलाई वरिष्ठ नेताको जिम्मेवारी दिन पार्टीभित्र सहमति नै छ । अब अर्को चरणमा छलफल भएपछि टुंगोमा पुग्न सक्छ ।’ अन्य नेताका हकमा प्रतिशतका हिसाबले भन्दा पनि क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट हुने भुसालले बताए ।

नेता गौतमले एकताका लागि छलफल जारी रहेको उल्लेख गर्दै नेताहरूको कार्यविभाजन बाँकी रहेको बताए । ‘एकताका लागि छलफल भइरहेको छ,’ उनले भने, ‘नेताहरूको जिम्मेवारी बाँडफाँटका केही विषय बाँकी छन् ।’ उनले पनि दुई पक्षबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा ठूलो विवाद नभएको बताए । ‘मैले नै विकास गरेको समाजवादी कार्यदिशा मिलाएर अघि बढाउनुपर्छ भन्ने प्रस्ताव छ,’ उनले भने ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने वैचारिक कार्यदिशा मिलेपछि मात्र गौतमसँग एकता हुने बताए । एकताका लागि आफूसँग छलफल नभएको उनको भनाइ छ । ‘पहिले वैचारिक कार्यदिशा मिल्नुपर्‍यो । हामी वैज्ञानिक समाजवाद भन्छौं । यसमा मान्नु भयो भने एकताको सम्भावना छ,’ उनले भने, ‘मुख्य कुरा विचार मिल्नुपर्छ ।’ गौतमको प्रवेशले पार्टीमा अन्तरसंघर्ष बढ्ने आकलन भइरहेको सन्दर्भमा खनाल भन्छन्, ‘नेताहरूको विचार मिल्ने हो भने अन्तरसंघर्ष भए पनि केही फरक पर्दैन ।’

खनालले तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको नेतृत्वले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको औचित्य सकिएको बताए । ‘पुँजीवादी जनवादी क्रान्ति भएसम्म बहुदलीय जनवाद कार्यक्रम सही थियो । अब त्यो क्रान्ति सकियो,’ उनले भने, ‘अब समाजवादी क्रान्तिको चरण सुरु भएको छ । त्यसैले वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नुपर्छ ।’

गौतम भने समाजवाद जहिले पनि वैज्ञानिक हुने भएकाले त्यसमा विवाद नरहेको बताउँछन् । ‘अवैज्ञानिक समाजवाद कहाँ हुन्छ र ?’ उनले भने, ‘समाजवाद आफैंमा वैज्ञानिक र व्यावहारिक हुन्छ ।’ समाजवादीको गत साताको स्थायी समिति बैठकले एकताका लागि गौतमसँग छलफल गर्ने निर्णय गरेको थियो ।
कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर