• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

विद्याले पेल्दै लगेपछि ओलीले बोलाए सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक डाकिएको छ । एमालको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएसँगै तिब्र ध्रुवकिरण भइरहेका बेला अध्यक्ष केपी ओलीले सचिवालयको बठक डाकेका हुन् । 

बिहीबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका सन्दर्भमा सचिवालय बैठक बस्न लागेको हो।

एमालेको गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

यी बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन्। राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ।

विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद र अध्यक्षका लागि कार्यकालको प्रावधान नराखी मौजुदा विधानमा जे व्यवस्था छ त्यही लैजाने तयारी भइरहेको छ।

नवौं महाधिवेशनपछि एमालेमा कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद लागू गरिएको थियो। २०७८ को दसौं महाधिवेशनपछि पनि पालिका तहका कमिटीदेखि माथि कार्यकारी कमिटीमा ७० वर्षे उमेरहदकै प्रबन्ध गरिएको थियो। तर २०८० जेठमा बसेको सचिवालय बैठकले एकीकृत समाजवादीमा गएका मुकुन्द न्यौपाने लगायतलाई पार्टीमा फर्काउन उक्त प्रावधान स्थगित गरिएकामा त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो।

लगातार दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाइने प्रावधान विधान महाधिवेशनले पारित गरे पनि दसौं महाधिवेशनपछि अचानक हटेको थियो। 

यसैबिच पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक भएको छ ।

भण्डारीको प्रोफाइल, प्रमुख सम्बोधनहरु, तस्बिर संग्रह लगायतका बिषय समेटिएको वेबसाइट https://www.bidyabhandari.com.np सार्वजनिक गरिएको हो ।

यो वेबसाइट पूर्व राष्ट्रपति भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरू, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धनमा गरेको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको भण्डारीको स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।

सार्वजनिक गर्दै सचिव राईले भनेका छन्, ‘सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रूपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता, विचार तथा अभिव्यक्तिहरू, तस्बिरसहितका स्मृतिहरू, प्रमुख सम्बोधनहरू, प्रकाशित सामग्रीहरू तथा सम्बन्धित अभिलेख एवं दस्तावेजहरूलाई एकै स्थानमा संग्रहित तथा सुव्यवस्थित गर्दै सर्वसाधारणका लागि सहज पहुँचबोग्य बनाउने उद्देश्यले तयार पारिएको हो ।’

समकालीन राजनीति र इतिहासमा चासो राख्ने शोधकर्ता, विद्यार्थी, पत्रकार तथा आम नागरिकका लागि यो वेबसाइट सन्दर्भ सामग्रीको भरपर्दो स्रोत बन्ने विश्वास राईले व्यक्त गरेका छन् ।

वेबसाइटमा समावेश सामग्रीहरू समयानुकूल थप, परिमार्जन र अद्यावधिक गरिदै लैजाने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर