प्रिमियर लिगः चेल्सी र म्यानचेस्टर युनाइटेडले खाए २–२ गाेल
काठमाडौँ । लियाम डेलापको उत्कृष्ट प्रदर्शनपछि इपस्विच टाउनले सोमबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराएको छ । यो सिजन आफ्नो घरेलु मैदानमा इपस्विचको यो पहिलो जित हो । हारले भने चेल्सीलाई गम्भीर धक्का लागेको छ ।
चेल्सी ३६ अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको लिभरपुलसँग नौ अंकको दूरी हो । इपस्विच भने १५ अंकमा लिग तालिकाको १८ औं स्थानमा रह्यो । उसका लागि २१ वर्षीय खेलाडी डेलापले १२ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे ।
त्यसपछि चेल्सीकै पूर्व खेलाडी ओमारी हुट्चिन्सनले दोस्रो गोल थपे । सोमबारकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड घरमै न्युकासल युनाइटेडको हातबाट २–० ले पराजित रह्यो । त्यसमा पहिलो हाफको सुरुमै न्युकासलका लागि एलेक्जान्डर इसाक र जोएलिन्टनले गोल गरे ।
म्यानचेस्टर युनाइटेड घरमा लगातार तेस्रो खेलमा हारेको यो ६० वर्षयता पहिलो हो । यस्तै ओल्ड ट्रायफोर्डमा न्युकासलले सन् १९७२ यता दोस्रो जित मात्र निकाल्न सक्यो । जितले न्युकासल ३२ अंकमा पाँचौं स्थानमा उक्लेको छ ।
म्यानचेस्टर युनाइटेड भने २२ अंकमा सीमित रहेर १४ औं स्थानमा रह्यो । यो रेलिगेसन क्षेत्रबाट सात अंकको दूरी मात्र हो । यस्तै एक अर्को खेलमा एस्टन भिल्ला र ब्राइटनले २–२ को बराबरी खेले ।
प्रतिकृया दिनुहोस