नागरिकलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त बनाउन खेल क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ– पुन
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्ला दिनमा नेपाली खेलकुद क्षेत्रले राम्रो प्रगति गरेको टिप्पणी गरेका छन् । खेल क्षेत्रले नागरिकको मानसिक तथा शारीरिक स्वास्थ्य तन्दुरुस्त बनाउन सहयोग गर्ने भएकाले राष्ट्रका हरेक निकायले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्ने उनले बताए ।
रोल्पाको होलेरीमा आयोजित ‘अन्तर विद्यालय स्तरीय छैठौं राष्ट्रपति तथा रुन्टीगढी रनिङशिल्ड प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले नेपालको खेल क्षेत्र नमूनायोग्य क्षेत्र बनेको बताए । केही दिन अघि मात्रै एनपीएल प्रतियोगिता सम्पन्न भएको र उत्कृष्ट खेलाडीले ६० लाख हाराहारीको कार जितेको प्रशंग निकाल्दै उनले अहिले देशभर खेल क्षेत्रमा आकर्षण बढेको बताए ।
‘समाज निर्माणका लागि, युवा र किशोरहरुका लागि खेलकुदको महत्व धेरै छ । मानसिक र भौतिक रुपमा स्वस्थ हुनका लागि पनि खेलकुद महत्वपूर्ण छ । आज खेल क्षेत्र नमुनायोग्य क्षेत्र बनेको छ । खेल क्षेत्रबाट नमूनायोग्य खेलाडी बनेर राष्ट्रको इज्जत बढाउन, आफ्नो करिअर बनाउन सकिन्छ । एनपीएलमा एउटै खेलाडीले राम्रो खेलेर ६० लाख बराबरको गाडी पाउँदा उहाँको बाबु आमा पक्कै खुसी हुनुभयो होला, उनले खेलकुद क्षेत्रका प्रशंसा गर्दै भने, ‘विश्वमा नेपाली क्रिकेटको अवस्था अहिले राम्रो छ । फुटबल र व्यक्तिगत प्रतिस्पर्धाहरु पनि राम्रो भएका छन् । संघीय सरकार, प्रदेश र स्थानीय सरकारहरुले पनि खेलकुदलाई प्रोत्साहन गरेका छन् । गाउँपालिकाहरुले पनि खेल क्षेत्रलाई प्रोत्साहन गर्दै अघि बढाउनु भएको छ । यसले नागरिकलाई शारिरिक र मानसिक रुपमा तन्दुरुस्त बनाउन सहयोग गर्दछ ।’
नेता पुनले आफ्ना सन्तानहरुले खेलकुद र पढाईलाई सँगसँगै अघि बढाएमा अविभावकहरु पनि खुसी हुनुपर्ने तर्क गरे । ‘पढाई र खेलकुदलाई युवा विद्यार्थीहरुले संगै लगेभने चिन्ता मान्नु हुँदैन । उनीहरुले आफ्नो रुची अनुसार खेलकुदमा जाँदा प्रोत्साहन गर्नुपर्दछ । राष्ट्रले पनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेको छ ।’
स्थानीय तहहरुले पनि खेल क्षेत्रलाई महत्व दिएको र स्थानीय तहहरु पनि ठूला खेल प्रतियोगिता सम्पन्न गर्न सक्ने अवस्थामा पुगेको उनले बताए ।
नेता पुनले नेकपा माओवादी केन्द्र संविधान संशोधनका लागि तयार भएको पनि बताएका छन् । तर त्यो संशोधन संविधानका अपुगहरुलाई पूर्ण बनाउन, संघीयता, समावेशीता, धर्मनिरपेक्षता तथा गणतन्त्रलाई अझ सुदृढ बनाउन संशोधन हुनुपर्ने उनले बताए ।
गाउँगाउँमा सिंहदरबार आउनु गणतन्त्रको उपलव्धि भएको बताएका उनले नपुगेका विषयलाई थप गर्दै जाने र स्थानीय सत्ताहरु बलियो बनाउनु पर्ने उनले बताए ।
‘विगतको संविधान परिवर्तन गर्न आन्दोलन गर्नुपर्ने अवस्था थियो । अहिले संविधान संशोधन गरेर संविधानमा देखिएका अपुगहरुलाई परिमार्जन मार्फत परिस्कृत गर्दै लैजान सकिन्छ । अहिले गणतन्त्रमा, समावेशीतामा समस्याहरु देखिएका छन् । समावेशीतालाई पंहुचमा भएकाले पाउने खालको विकृति सुरु भएको छ । धर्मनिरपेक्षता तथा संघीयता कार्यान्वयन गराउने विषयमा समस्याहरु छन् । यीनलाई सम्बोधन गर्दै र सुधार गर्दै अघि बढ्न तयार हुनुपर्छ ।’
समावेशीताको सिद्धान्तका नाममा पंहुचवालाहरुले नै त्यसलाई दुरुपयोग गरिरहेको, गणतन्त्र असली अर्थमा जनताको पक्षमा अझै लागु हुन नसकेको, धर्मनिरपेक्षता तथा संघीयताका विषयमा पनि अपुग र बहसहरु चलिरहेकाले अवको संविधान संशोधनको मुद्दा जनताको पक्षमा अधिकार थप गर्ने हिसावले हुनुपर्ने उनको तर्क थियो । माओवादीले यस विषयलाई बहसको रुपमा अघि सार्ने र जनतालाई अझ बलियो बनाउने शर्तमा माओवादी संविधान संशोधनका लागि तयार हुने उनले बताए ।
लोकतन्त्रको विकल्प लोकप्रियतावाद वा तानाशाही होईन, लोकतन्त्रलाई नै परिमार्जन गर्दै अझ सुदृढ लोकतान्त्रिक व्यवस्था बनाउने रहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस