• २०८१ पौष २४ बुधबार
  • Wednesday, 8 January, 2025

विशेष महाधिवेशनबारे माओवादीमा सुरुभयो बहस

काठमाडौँ । नेकपा माओवादी केन्द्रभित्र विशेष महाधिवेशन बोलाउने कि नियमित महाधिवेशनको तयारी गर्ने भन्ने विषय केन्द्रित बहस भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा महाधिवेशनको तयारी गर्न नेतृत्वसमक्ष नेताहरूले सुझाव दिएका थिए ।

उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माण, विचार संश्लेषण सम्बन्धमा आफूले राखेको प्रस्तावबारे सुनुवाइ नभएकोमा असन्तुष्टि पोखेका थिए । ‘

अर्का उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनबारे नबोले पनि महाधिवेशनको तयारीमा लाग्न सुझाव दिएको एक नेताले बताए । तर यसबारे अध्यक्ष प्रचण्डले केही नबोलेको ती नेताको भनाइ छ । ‘बैठक शनिबार पनि भएकाले अध्यक्षले जवाफ दिनुहुन्छ होला,’ उनले भने ।

बैठकमा पुन र शर्मा दुवैले अब पार्टीको कार्यदिशा, कार्यक्रम र कार्यनीतिमा समाजवादी विकास मोडेल हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै उपमहासचिव हरिबोलले गजुरेलले विगतमा प्रचण्डले भ्रष्टाचारविरुद्ध कदम चाल्न खुट्टा कमाएकाले आफूले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएको जिकिर गरेका थिए । तर अहिले सुशासन, सामाजिक न्यायको पक्षमा प्रचण्ड उभिएकाले आफूले साथ दिएको उनको भनाइ थियो ।

‘विगतमा प्रधानमन्त्री हुँदा तपाईं(प्रचण्ड)ले भ्रष्टाचारविरुद्ध राम्रो काम गर्नुभएन, त्यसैले राजीनामा दिएँ । अहिले सुशासनको पक्षमा उभिनुभएको छ । म पूर्णरूपमा साथमा छु’, उनले प्रष्टीकरण दिँदै भनेका थिए ।

गजुरेलले पार्टीलाई बलियो बनाउन पूर्वी क्षेत्र(सहरी) क्षेत्रमा संगठन विस्तार, ठुल्ठुला कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए ।

अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले यथास्थितिबाट पार्टी अगाडि बढ्न नसक्ने धारणा राखेका थिए । उनी विशेष वा नियमित महाधिवेशन गर्ने विषयमा मौन रहेको बुझिएको छ । उनले जनता केन्द्रित योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

सचिव देवेन्द्र पौडेलले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत दस्तावेजको समर्थन गर्दै केन्द्रीय समिति बैठकमा लिखित रूपमा पेस गर्न सुझाव दिएका थिए । साथै मध्यपूर्व, रसिया–युक्रेन युद्ध, अमेरिका र चीनबिच हुनसक्ने तनाव, इजराइल–प्यालेष्टाइन तनाबबारे पार्टीले स्पष्ट नीति ल्याउनुपर्ने सुझाव उनले दिएका थिए ।

समाजवादी मोर्चालाई सक्रिय बनाउनुपर्ने, नेताहरूको  कार्यविभाजन हुनुपर्ने, अबको समाजवादी अर्थनीति स्पष्ट हुनुपर्ने, पार्टीले वैचारिकभन्दा व्यावहारिक विषय खोज्नुपर्ने, उत्पादनमा जोड दिनुपर्ने पौडेलको सुझाव थियो ।

अर्का सचिव चक्रपाणि खनालले विगतमा श्रममात्रै विदेशमा पलायन हुने गरेकोमा अहिले श्रम र पुँजी दुवै पलायन हुने गम्भीर स्थिति रहेको धारणा राखेका थिए । यसलाई सम्बोधन गर्नेगरी प्रतिवेदन ल्याउन उनले सुझाव दिएका थिए । यस्तै सूचना प्रविधिले वर्गीय समस्या समाधान गर्छ भन्ने भ्रम रहेको बताउँदै उनले वर्गीय चरित्रलाई प्रभावित नपार्नेगरी योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सबैको जोड समाजवादी धाराको विकासमा रहेको स्पष्ट पारे । ‘सबै पालिकामा समाजवादको आधारशीला खडा गर्ने तयारी भन्नेमा सबैको धारणा आएको छ । हामीले १२३ स्थानीय तहमा नेतृत्व गरिरहेका छौँ’, उनले भने, ‘ग्रासरुट सुशासनमा बढी जोड दिनुपर्छ । जरादेखि टुप्पासम्म र टुप्पादेखि जरासम्म राग पैदा गर्नुपर्छ । पोजेटिभ भाइब्रेसन पैदा गर्नुपर्छ भन्नेमा सबैले धारणा राख्नुभएको छ ।’

यस्तै पार्टीले अगाडि सारेको दुई वटा अभियानलाई सफल बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएको सापकोटाले बताए । बैठकको सुरुमै प्रचण्डले आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक दस्तावेजबारे संक्षिप्तमा नेताहरूलाई जानकारी गराएका थिए ।

समसामयिक विषय, पार्टी रूपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा नेताहरूले धारणा राखेको सापकोटाले बताए । शुक्रबारको बैठकमा ३० जना स्थायी समिति सदस्यले धारणा राखेका थिए । शनिबार २ बजे बस्नेगरी बैठक स्थगित भएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर