• २०८१ पौष २३ मंगलबार
  • Tuesday, 7 January, 2025

एमाले केन्द्रीय समितिः कांग्रेसँगको सत्ता गठबन्धनको समिक्षा गर्ने 

काठमाडौं । एमालेले कांग्रेससँग सत्ता गठबन्धन गरेपछि सुरु भएको राजनीतिक कोर्सको समीक्षा गर्ने भएको छ । आइतबारदेखि सुरु हुने एमालेको केन्द्रीय कमिटी बैठकले कांग्रेससँग सहकार्यको समीक्षा गरी आगामी कार्ययोजना बनाउने तयारी गरेको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा कांग्रेस–एमाले सरकारका उपलब्धि र कमजोरी समीक्षा गरी आगामी कार्यक्रम प्रस्ताव गर्ने सूची छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको बताए ।

‘अध्यक्षको राजनीतिक प्रतिवेदनमा सरकारका कामको समीक्षा, पार्टी संगठन निर्माण र आगामी कार्यक्रम तय छ । कांग्रेससित गठबन्धनको राजनीतिक कोर्स सुरु भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटीले समीक्षा गर्नेछ,’ उनले भने, ‘यो गठबन्धनको औचित्य, आवश्यकता, अवसर र चुनौतीबारे प्रतिवेदनमा उल्लेख छ ।’

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटीमा मुख्यगरी दुई प्रस्तावमा छलफल हुने बताए । गठबन्धन सरकारको कामका उपलब्धि, आगामी दिनमा गर्नुपर्ने काम र एमालेलाई राष्ट्रिय शक्ति बनाउने विषय मुख्य प्रस्ताव रहेको उनको भनाइ छ ।
‘सरकारले गरेका काम र आगामी दिनमा प्रभावकारी बनाउन गर्नुपर्ने योजनाहरूमाथि छलफल हुनेछ,’ उनले भने, ‘सरकारका कामलाई प्रभावकारी बनाउन पार्टीका विभागहरूले मन्त्रीहरूलाई ध्यानाकर्षण गराउने गरी कार्यसूची तय हुन्छ ।’

केन्द्रीय कमिटीले वडातहसम्म सञ्चालन गर्ने तीनमहिने अभियानको ढाँचा बनाउनेछ । ‘तीन महिना जरा केन्द्रित अभियानमा नेताहरू खट्ने निर्णय हुनेछ,’ उनले भने, ‘संगठनका कहाँ कमजोरी छन् ? जनताको चासो र गुनासो के छ ? ती सबै विवरण संकलन गरी सम्बोधन गर्ने प्रयास हुनेछ ।’

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा चीन भ्रमण र संयुक्त राष्ट्रसंघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको साइडलाइन बैठकको समीक्षा हुनेछ । केन्द्रीय कमिटीले सरकार, पार्टी र नेतृत्वविरुद्ध भएका कुप्रचार, षड्यन्त्र र घेराबन्दीको प्रतिवाद गर्ने निर्णय अनुमोदन गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर