जनार्दन र हरिबोलको मतको सम्बोधन भईसक्याे– अध्यक्ष प्रचण्ड
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र फरक मत राख्ने नेताहरुको विषय सम्बोधन भएको र बाँकी महाधिवेशनबाट टुंग्याउने बताएका छन्।
सोमबार दोस्रो दिनको बैठक प्रारम्भ गर्दै उनले आफ्नो संक्षिप्त धारणा राख्ने क्रममा यस्तो बताएकाे एक सहभागि केन्द्रीय सदस्यले बताएका हुन्। प्रचण्डले पार्टीभित्र आन्तरिक एकता कायम भएको र उपमहासचिवद्वय हरिबोल गजुरेल र जनार्दन शर्माको मतको सम्बोधन भएको बताए।
‘पार्टी भित्रको आन्तरिक एकता कायम हुन्छ,’ उनको भनाइ छ, ‘ जनार्दन र हरिबोल गजुरेलको मतहरुको समेत सम्बोधन भएको छ।’
उनले बाँकी रहेको विषय महाधिवेशनमा जाँदा बहस गरेर टुंग्याउने बताए। ‘केही बाँकी रहेका मतलाई महाधिवेशनमा जाँदा बहस गरि हल गर्न सकिन्छ,’ प्रचण्डको भनाई छ।
उनले बैठकलाई ‘एकता र बिजयको बैठक’को संज्ञा दिएका छन्। ‘यो बैठक एकता र बिजय को बैठक हो,’ बैठकमा ७ मिनेटजति बोलेका प्रचण्डले भने, ‘सबै मिलेर पार्टी निर्माण गरौं।’
शर्माले गत साउन अन्तिम साता बसेको स्थायी समिति बैठकमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो फरक मतसहितको प्रस्ताव पेस गरेका थिए। त्यसमा प्रचण्डलाई नेतृत्व नेतृत्व हस्तान्तरण गर्न सुझाव दिँदै त्यसका विभिन्न विकल्प पेस गरिएको थियो।
गजुरेलले भने प्रचण्ड प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकारबाट राजीनामा दिँदै पार्टी कार्यालयमा आफ्नो प्रस्ताव दर्ता गराएका थिए।
त्यसमा पार्टी बिग्रिएको भन्दै त्यसका लागि सुधार गर्नुपर्ने विषयबारे सुझाव दिइएको थियो।
माओवादीले आगामी ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने कार्ययोजना अगाडि सारेको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो योजना अगाडि सारेका हुन् ।
प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हरेक समितिले आगामी ६ महिनाभित्र कम्तिमा संगठित सदस्यता ५ प्रतिशत र आम सदस्यता १० प्रतिशत वृद्धि गर्ने गरी अभियानात्मक कार्यक्रम संचालन गर्नुपर्छ ।’
नयाँ पार्टी सदस्यता वितरण कार्य नियमित कार्य र हरेक पार्टी सदस्यले यसलाई महत्वपूर्ण कार्यसूची बनाउनुपर्ने पनि भनिएको छ ।
आगामी ९ महिनाभित्र सबै सदस्यको विवरण अनलाइन डिजिटल माध्यममा ल्याइसक्ने पनि कार्ययोजना छ ।
यसैबीच माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यससम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’
प्रतिकृया दिनुहोस