जय ट्रफीमा मयनको शतकविरूद्ध सन्दीपकाे ५ विकेटः बागमती र मधेशकाे खेल बराबरी
काठमाडौं । जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको आफ्नो पहिलो खेलमा मयन यादवको शतकका बाबजुद मधेश प्रदेशले बागमती प्रदेशसँग बराबरी खेलेको छ ।
सोमवार जनकपुरमा सम्पन्न मधेश र बागमतीबीचको खेल बराबरीमा सकिएको हो । मधेशले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको बागमतीले दोस्रो तथा अन्तिम दिनको खेल सकिदा छ विकेट गुमाएर ९७ रन मात्र जोडेसँगै खेल बराबरीमा सकिएको हो ।
बागमतीका लागि रित गौतमले सर्वाधिक २५ रन जोडे । उनले १८ बलमा चार चौका प्रहार गरेका थिए । शुभ कसांकार २१ बलमा २३, आशुतोष घिरैया १७ तथा प्रतिस जिशी १६ रनमा आउट भए । मधेशका लागि कप्तान हरिशंकर शाहले तीन तथा रञ्जित कुमार, अभिषेक तिवारी र रुपेश सिंहले समान एक विकेट लिए ।
पहिलो इनिङमा ४८ रनले पछि परेको मधेशले दोस्रो इनिङमा मयनको शतक सहयोगमा २ सय ११ रन थपेको थियो । मधेशका कप्तान हरिशंकर शाहले नौ विकेट गुमाएर २ सय ११ रनमा इनिङ समाप्तीको घोषणा गरेका थिए । दोस्रो इनिङमा मधेशले १ सय ६३ रनको अग्रता लिएको थियो ।
मधेशका लागि मयनले सर्वाधिक १ सय ६ रन जोडेका थिए । उनले १ सय ८ बल खेल्दै १२ चौका र २ छक्का जोडेका थिए । मयनले जय ट्रफी मेन्स एलिट कपको इतिहासमा नै पहिलो शतक बनाएका थिए । मयनले १ सय २ बलमा शतक पूरा गरेका थिए ।
अभिषेक तिवारी १९, निरज यादव १७ तथा विशाल पटेल र रुपेश सिंह समान १४रनमा आउट भए । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले १७ ओभरमा ८८ रन खर्चिएर पाँच विकेट हात पारे । पहिलो इनिङमा समेत पाँच विकेट हात पारेका सन्दीप एकै खेलमा दश विकेट पूरा गर्ने पहिलो खेलाडी बने ।
सुर्य तामाङले दुई तथा नन्दन यादव र रिजन ढकालले समान एक विकेट लिए ।
त्यसअघि आइतवार जनकपुरमा सुरु खेलमा मधेशले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो इनिङ्समा मधेश प्रदेश १ सय २ रनमा अल आउट भएको हो । बाक्लो हुस्सु लागेका कारण करिब २ घण्टा ढिला सुरु भएको खेलमा मधेश ३५.३ ओभरमा नै अल आउट भएको हो ।
मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक २१ रन जोडे । विशाल पटेल १६, निरज यादव १२, अभिषेक तिवारी ११ तथा हिमाशुं दत्त १० रनमा आउट भए । बागमतीका लागि कप्तान सन्दीपले १४ ओभरमा ४१ रन खर्चिएर ५ विकेट लिए ।
सूर्य तामाङले तीन तथा प्रतिश जिशी र नन्दन यादवले समान १ विकेट लिए । पहिलो इनिङ्समा बागमतीले १ सय ५० रनमा अल आउट हुँदै ४८ रनको अग्रता लिएको थियो ।
बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४७ तथा कप्तान सन्दीप लाछिानेले ३३ रन जोडेका थिए । शुभ कसांकार ३५ रनमा आउट हुँदा रिजन ढकाल १३ रनमा नट आउट रहे । रित गौतम ३ रनमा आउट हुँदा आशुतोष घिरैयाले रनको खाता नै खोल्न सकेनन् । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले समान १ विकेट लिए ।
खेल बराबरीमा सकिए पनि पहिलो इनिङ्समा अग्रता लिएका कारण बागमतीले नियमित सात तथा बोनसको १५ गरि जम्मा २२ अंक पाएको छ । पहिलो इनिङ्समा पछि रहेको कारण मधेशले नियमित तीन तथा बोनसको १४ गरि जम्मा १७ अंक पाएको छ ।
मधेशले दोस्रो खेलमा बुधवार विरगंजमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । बागमतीले बुधवार नै जनकपुरमा विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्नेछ ।
प्रतिकृया दिनुहोस