५ चैतमा हुने भयाे स्ववियु चुनाव
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ मा गर्न सिफारिस गरिएको छ । विद्यार्थी कल्याण परिषद्को सोमबार बसेको बैठकले उक्त मितिमा स्ववियु निर्वाचन गर्न कार्यकारी परिषद्लाई सिफारिस गरेको हो ।
कार्यकारी परिषद्ले सिफारिस अनुमोदन गरेपछि निर्वाचनको मिति घोषणा हुनेछ ।
त्रिवि वार्षिक क्यालेन्डरमा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने मिति तोकिएको छ । तर २०७९ मा पनि चैत ५ मै निर्वाचन भएकाले सोही मितिमा निर्वाचन गर्न सिफारिस गरिएको परिषद्का सदस्य सचिव तथा विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।
निर्देशनालयले निर्वाचन मिति सिफारिस गर्नुअघि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनसँग समेत परामर्श गरेको छ । निर्वाचनका लागि विद्यार्थी संगठनहरू सकारात्मक पाइएको परिषद्का सदस्यहरूले बताएका छन् ।
विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) अध्यक्षताको परिषद्ले निर्वाचन मिति सिफारिस गर्ने र उपकुलपति अध्यक्षताको कार्यकारी परिषद्ले अनुमोदन गरेपछि निर्वाचन मिति कायम हुने व्यवस्था छ । विद्यार्थी परिषद्मा डिन, क्याम्पस प्रमुख र स्ववियु अध्यक्षमध्येबाट प्रतिनिधित्व हुने व्यवस्था छ ।
निर्वाचन मिति घोषणाअघि भर्ना, परीक्षा, मतदाताको नामावली संकलनलगायत काम पूरा भएको हुनुपर्छ । निर्वाचित स्ववियुको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ ।
२०७९ मा ६४ आंगिक क्याम्पसमध्ये ५० वटामा निर्वाचन भएको थियो । आंगिकसँगै सामुदायिक र केही निजी क्याम्पसमा पनि निर्वाचन भएर विद्यार्थी प्रतिनिधि चुन्ने व्यवस्था छ ।
त्रिविका १ हजारभन्दा बढी क्याम्पस छन् । तोकिएको मितिमा क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी नियुक्त गरेर निर्वाचन गराउने सदस्य सचिव अधिकारीले बताए । क्याम्पस प्रमुख स्ववियुको संरक्षकसमेत हुनेछन् ।
स्ववियु निर्वाचनमा २८ वर्ष उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।
प्रतिकृया दिनुहोस