• २०८१ माघ १४ सोमबार
  • Monday, 27 January, 2025

वर्षमानसहित ओलीको गाउँ आठराई गए प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी पहाडी जिल्ला तेह्रथुम गएका छन् । 

प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । प्रचण्डसँगै सैनिक हेलिकोप्टरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि तेह्रथुम गएका हुन् । 

प्रचण्डले आज लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्नेछन् । त्यहाँबाट उनी प्रधामन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको जन्मथलो आठराई जानेछन् । 

प्रचण्डले आठराई गाउँपालिका–३ ह्वाकु बगाले शहीद स्मृति पार्क र सोही स्थानमा जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । 

उक्त स्थानमा २०५८ साल माघ २४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारणको सामूहिक रुपमा मारिएका थिए ।

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । 

प्रचण्डले आजै आठराई–२ स्थित पर्यटकीय क्षेत्र झाँक्री गुफा पार्कको समेत अवलोकन गर्नेछन । 

उनी आज राति आठराई–६ चुहानडाँडा बजारमा बास बस्नेछन् । मंगलबार बिहान आठराई–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने प्रचण्डको कार्यतालिका छ । त्यसपछि उनले कन्दङवाको शालीक अनावरण गर्नेछन् । 

दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्कने माओवादी केन्द्र तेहथुमका नेता रघु गौतमले जानकारी दिए । 

प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यामिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर