अखिल क्रान्तिकारीको विवाद सुल्झिएन, ३ नेताले दिए लिखित निवेदन, मत पेटिका पेरिसडाँडा लगियो
काठमाडौं । आपसी असमझदारी र विवादका बीच अनेरास्ववियू क्रान्तिकारीको मत गन्न बाँकी पेटिकाहरु पार्टी मुख्यालय पेरिसडाँडा लगिएको छ ।
विवाद समाधान गरेर मतगणना छिटो गर्न अध्यक्षका तीन उम्मेदवारहरु सुदीन पौडेल, हेमन्त राई र उपदेश यादवले लिखित निवेदन निर्वाचन समितिलाई दिएका छन् । अर्का प्रत्यासी विजय प्रकाश सापकोटा भने मौन बसेका छन् ।
अखिल क्रान्तिकारीका तीन जना अध्यक्षका उम्मेदवारले मतदान भएको क्याम्पस वाल्मीकि क्याम्पसमा नै मतगणना गर्न माग राखेका थिए । तर उनीहरूकाे माग पूरा भएन । मत पेटिका हाल पेरिसडाँडा लगिएकाे छ ।
उनीहरूले रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मत मात्र गणना गरिनुपर्ने माग समेत गरेका छन् । उनीहरूले व्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएका मत बदर गर्न समेत अनुरोध गरेका छन् ।
अखिल क्रान्तिकारीको शनिवार ८ वटा मतदान केन्द्रमा मतदान भएको थियो । तीमध्ये ७ वटा मतदान केन्द्रमा मतगणना भैसकेको छ भने वाल्मीकि क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे विवाद भएपछि मतगणना स्थगित भएको छ ।
प्रतिकृया दिनुहोस