• २०८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025

ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउँने प्रचण्डकाे विश्वास

सोनाम ल्होछारमा प्रचण्डको शुभकामना सन्देशः  
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसारको अवसरमा शुभकामना दिएका छन् । 

'नयाँ वर्षका रूपमा तामाङ समुदायको सोनाम ल्होछार लगायत नेपालका हिमाली एवं पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले परापूर्वकालदेखि मनाउँदै आएको सोनाम ल्होछार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,'  उनले भने ।

साेनाम ल्हाेछारमा श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिन्छ । 

आदिवासी जनजातिका विभिन्न समुदायले मनाउने ल्होछार पर्वमा मान्यजनबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ । यी पर्वहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, एक जाति र समुदायले अर्को जाति र समुदायको पहिचान र विशिष्टताको सम्मान, राष्ट्रिय एकतासहितको समुन्नतिका लागि प्रेरकको रूपमा समेत रहँदै आएका छन् । 

यस्ता पर्वहरू कुनै खास जाति वा समुदायविशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व बन्न पुगेकाे अध्यक्ष प्रचण्डकाे विश्वास छ ।

'नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको छ । विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो ।'

'ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउँदै भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास' प्रचण्डले लिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर