बहिस्कार गरेका रास्वपा सांसद बैठकमा फर्किए
काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि बहिस्कार गरेर बाहिरिएका प्रतिपक्षी दल रास्वपाका सांसद फर्किएका छन् ।
१५ मिनेटको बहिष्कारपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा फर्किएका हुन् । उनीहरूले बोल्नका लागि सभामुखबाट समय नपाएपछि बिराेध गर्दै बैठक १५ मिनेटको लागि बहिष्कार गरेका थिए ।
प्रधानमन्त्री बोलिरहेका बेला रास्वपा सांसद सदनको बैठकमा फर्किएका हुन् । रास्वपा सांसदहरूले प्रधानमन्त्री बोल्नुअघि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका थिए ।
सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई दोस्रो दर्जाका सांसद ठानिएको बताए । उनले भने, ' हामीलाई दोस्रो दर्जाका सांसदहरू ठानियो । हामी यो बैठक १५ मिनेटको लागि बहिष्कार गर्छौं ।'
प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकको सुरुमा नै रास्वपाले अवरोध गरेको थियो । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको हो ।
सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए ।
रास्वपा सभापति रवि लामिछानेकाे निलम्बन फुकुवाकाे माग गरिरहेकाे छ ।
प्रतिकृया दिनुहोस