झडप बढ्न थालेपछि फुङलिङमा विहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार बनाउन नहुने मागसहित आन्दोलनरत ‘नो केबलकार’ समूहको आन्दोलन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको शनिबार मध्यरातिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 

 प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

नो केबलकार समूहले शनिबार साँझ फुङलिङको वीरेन्द्र चोकमा मसाल जुलुस निकालेर राँको निजी घरमा फ्याँक्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत पक्षका तीनजना घाइते भएका छन् । आन्दोलनरत समूहले चोकमा राँको सबैतिर छर्न थालेपछि प्रहरी आगो निभाउन पानी लिएर पुगेको थियो ।

चोकमा बालेको आगो सर्वसाधारणका घरमा फालेकाले रोक्न खोज्दा झडप भएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी रवि रावलले बताए । पराजुली चोकदेखि सुरु भएको र्‍याली फुङलिङ बजारको तोक्मे हुँदै वीरेन्द्रचोक पुगेपछि आगो सल्काइएको थियो ।

फुङलिङमा गत बिहीबार पनि झडप भएको थियो । केबलकार निर्माण गर्न नहुने अडानमा रहेको समूहको पदयात्रालाई प्रहरीले निर्माणस्थल जान नदिएपछि झडप भएको हो । झडपमा ११ प्रहरी, एक आन्दोलनकारी र एकजना सवारीचालक घाइते भएका छन् । 

महतोलाई कालोझन्डा
पाथीभराको पदयात्रा गरेर फर्किएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिबार एक समूहले ताप्लेजुङ सदरमुकाममा कालोझन्डा देखाएको छ । महतोलाई विकासविरोधी भन्दै स्थानीय महिला समूहले कालोझन्डा देखाएको हो । ‘नो केबलकार पक्ष’ भने केबलकार निर्माणमा अवरोध गर्दै चरणबद्ध आन्दोलनमा छ । योे समूहले ६ देखि ८ फागुनसम्म पाथीभरा क्षेत्रमा पदयात्रा आयोजना गरेको थियो ।

‘नो केबलकार’ पक्ष र प्रहरीबिच कात्तिक र माघमा पनि झडप भएको थियो । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको शिलान्यासका क्रममा २३ कात्तिकमा फुङलिङ नगरपालिका– ४ मा झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली र असइ अविनाश माझी घाइते भएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर