• २०८१ फाल्गुण १२ सोमबार
  • Monday, 24 February, 2025

ओलीविरुद्ध दाहालका चार प्रहार

झापा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ओली सरकारलाई भ्रष्टाचार र प्रतिगमनको संरक्षकको रूपमा चित्रित गरेका छन् ।

उनले विभिन्न मितिमा ओली नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । १५ पुसमा गौरीगन्जको सभामा त दाहालले ओलीलाई ‘जाली, झेली, कपटी र बेइमान’ भन्न पनि पछि परेनन् ।

दाहालले १५ पुसमा झापाको गौरीगन्जमा, १४ माघमा तेह्रथुमको आठराईमा, ४ फागुनमा दमक र १२ फागुनमा कचनकवलमा ओलीको तीव्र आलोचना गरे । उनको भाषणको सार कुरा थियो, ‘ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ । ओलीले अझै पनि प्रतिगमनको चाहना राखिरहेका छन् ।’

ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा बोल्दै दाहालले संविधानमा स्थापित संघीयता, गणतन्त्र, महिला, आदिवासी, दलित, मधेशी र मुस्लिमका अधिकारको खिलाफ ओलीको दृष्टिकोण अग्रसर बन्दै गएको आरोप लगाएका थिए ।

त्यसअघि १४ माघमा, दाहालले ओलीको जन्मस्थल तेह्रथुमको आठराईमा व्यंग्यात्मक शैलीमा भने, ‘सरकारको आयु धेरै लामो देखिँदैन । हामी हिँड्दा हिँड्दै सरकार ढल्न पनि सक्छ ।’

तराई मधेश जागरण अभियानका क्रममा झापा पुगेका दाहालले पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गर्दै झापामा प्रतिक्रान्तिको खतरा बढ्दै गएको आरोप लगाए । ‘झापा विगतमा क्रान्तिको प्रतीकका रूपमा चिनिएको थियो,’ दाहालले थपे, ‘अहिले भने झापाबाटै प्रतिक्रान्तिको खतरा बढेको छ ।’ ओलीप्रति लक्षित गर्दै उनले प्रतिक्रान्तिको खतराबाट देशलाई जोगाउन सबैलाई अपिल गरे ।

माओवादीले यतिबेला कोशी प्रदेशमा सक्रियता बढाएको छ । हालै सम्पन्न उपनिर्वाचनको परिणामले माओवादीलाई उत्साहित बनाएको छ । पार्टीले आगामी २०८४ को चुनावमा २०६४ सालको नतिजा दोहोर्‍याउने नेताहरुले दाबी गर्दै आएका छन् ।

दाहालले पछिल्लो समय कोशी प्रदेशका विभिन्न जिल्लामा भ्रमण गर्दै स्थानीय जनतासँग संवाद गर्दै आएका छन् ।

माओवादीको जनाधार पुनः मजबुत बनाउनका लागि जनतासंग माओवादी’ तराई मधेश जागरण अभियान सुरु गरिएको हो ।

मर्निङ वाक गर्दै जनताका भान्सासम्म
हिजोआज दाहाल जहाँ पुग्छन्, नेता कार्यकर्तालाई अगुवा पछुवा बनाएर मर्निङ वाक गरिरहेका हुन्छन् । सोमवार बिहान झापाको भद्रपुरमा उनले त्यो उपक्रमलाई दोहोर्‍याए ।

खासगरी उनी कोशी प्रदेशमा बढी केन्द्रित देखिएका छन् । प्रधानमन्त्री ओलीको गृहजिल्लासँगै केही वर्षयता जारी पहिचानको आन्दोलनका कारण दाहालको बढी ‘इन्ट्रेस्ट’ कोशीमा देखिन्छ ।

माओवादीका लागि कोशी प्रदेश परम्परागत रूपमा कमजोर क्षेत्र मानिन्छ । ९३ सदस्यीय प्रदेशसभामा माओवादीका १३ जना मात्रै सदस्य छन्, जसमध्ये प्रत्यक्षतर्फ नौ जना मात्र निर्वाचित भएका थिए । प्रतिनिधिसभामा २८ निर्वाचन क्षेत्रमध्ये माओवादीले चार स्थानमा मात्रै जित निकाल्न सफल भएको थियो । त्यस्तै, १३७ स्थानीय तहमध्ये माओवादीले १३ वटामा मात्रै प्रमुख पद जितेको छ ।

तर, हालै सम्पन्न उपनिर्वाचनको परिणामले दाहाल अलि बढी नै हौसिएको पाइएको छ । कतिपय कार्यक्रममा त उनले २०६४ को मत परिणाम दोहोर्‍याउने जिकिर पनि गर्न थालेका छन् ।

‘पार्टीको मुख्य लक्ष्य ८४ को चुनावमा २०६४ को नजिता दोहोर्‍याउने हो,’ कोशीका इन्चार्ज हरिबोल गजुरेलले भने, ‘त्यही कारण माओवादीले सक्रियता बढाउदै लगेको हो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर