• २०८१ फाल्गुण १७ शनिबार
  • Saturday, 1 March, 2025

सिरहा पुग्यो माओवादी अभियानः प्रचण्डले भने- सिरहा मेरो 'माइतीघर'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ सिराहा आइपुगेका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिराहा आएका हुन् । 

प्रचण्डले सिरहा आफ्नो 'माइतीघर' भएको बताएका छन् । शुक्रबार साँझ भगवानपुर चोकमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

आफूलाई २०७० सालमा अप्ठ्यारो परिस्थितिमा सिरहाले चुनाव जिताएको र दोस्रोपल्ट देशको नेतृत्व गर्ने अवसर दिएको भन्दै सिरहाप्रति नतमस्तक रहेको दाहालले बताए । ‘सिरहा आउँदा माइतीघर आएको महसुस हुन्छ,’ प्रचण्डले भने, ‘यसबारे मैले सबै ठाउँमा व्याख्या गर्ने गर्छु ।’

यहाँको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका समस्याबारे आफू जानकार रहेको भए पनि केही गर्नै खोज्दा आफूलाई सत्ताच्यूत गर्ने गरिएको प्रचण्डले सुनाए । ‘पछिल्लोपटक पनि देशमा केही गरेरै देखाउन सुशासन र समृद्धिको अभियान चलाएको थिएँ,’ उनले भने, ‘तर, दलाल र विचौलियाहरुले सरकारै ढालिदिए ।’

प्रचण्डले सिरहा र सप्तरीको सीमामा रहेको बलान नदीमा तटबन्ध, ठाडी–लहान चार लेन सडक, ठाडी भन्सारमा क्वारेन्टाइन निर्माणलगायतका कार्यका लागि पहल र सरकारलाई दबाब दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

आज बिहान उनले नवराजपुर १ की स्वर्गीय रिङ्कु सदायको परिवारसँग भेटघाट गर्ने कार्यतालिका छ । सदायको सामूहिक बलात्कारपछि शङ्कास्पद मृत्यु भएको थियो । 

त्यसैगरी बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहैया, औरही, गणेशपुर, कृष्णपुर चोकमा भेटघाटपश्चात् अपराह्न सिराहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ ।

जनसभा पश्चात् बसविट्टा चोक हुँदै धनुषाको लागि सो समूह अघि बढ्ने कार्यतालिका छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर