• २०८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 6 March, 2025

अमेरिकाबाट डिपाेर्ट भएका नेपाली लिएर चार्टर विमान आज काठमाडौं आउँदै, कति छन् ?

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ। अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार विहान १० बजे काठमाडौंमा आउन लागेको हो।

निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए। अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो।

यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो। चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका छन्। 'हामीलाई प्राप्त प्रारम्भिक सूचीअनुसार अमेरिकाले ११ जना नेपालीलाई चार्टर विमानमार्फत नेपाल फर्काउन लागेहो हो।  

झन्डै एक महिना अगाडि नेपालस्थित अमेरिकी दूतावासले निष्कासित भएका केही नेपालीलाई चार्टर जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बताएको छ। 

पछिल्लो दुई महिनामा कम्तीमा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ। जनवरी २० पछि उक्त संख्यमा बढोत्तरी भएको स्रोतको दाबी छ। अमेरिकाले अंग्रेजी महिना जनवरी र फेब्रुअरीमा गरी २९ जनालाई निष्कासन गरेको हो। ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल फर्काइएका हुन्।

इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन्। विद्यार्थी भिसामा गएर कानुन विपरीत काम गर्ने नेपालीहरूलाई पनि ट्रम्प प्रशासनले निशाना साँधिरहेका छन्। 

अमेरिकाबाट नेपाल फर्काइएकाहरूमाथि अवैध प्रवेश, गैरकानुनी रूपमा बसोबास र अध्यागमन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ।

चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन लागेको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आउनेछ ।

बुधबार काठमाडौंमा आउने चार्टर विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कनेछ । उक्त विमान ६ जना यात्रु लिएर अमेरिका फर्कने अध्यागमनका एक अधिकारीले बताए ।

माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । अध्यागमनसम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस) ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली फर्काइसकेको छ ।

आइसले तीन नेपालीलाई भने पानामा डिपोर्ट गरिएको जनाएको छ । तर उनीहरूलाई पानामा पुर्‍याउनुको कारण खुलेको छैन ।

कागजातबिहीन विदेशीलाई आइसका अधिकारीले उनीहरूकै देशमा लगेर छाड्ने गरेका छन् । ‘कस्टम एन्ड बोर्डर प्रोटेक्सन’ (सीबीपी) ले मेक्सिको सीमाबाट बिनाभिसा छिर्न खोज्ने विदेशी नागरिकलाई पक्राउ गरेर मेक्सिको नै फिर्ता पठाउने गरिरहेको छ ।

‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का अनुसार तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका छिरेका थिए । तीमध्ये २ हजार ८ जना आइसको हिरासतमा परेका थिए ।

अमेरिकाले पहिलो चरणमा १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । सूचीमा १ हजार ३ सय ६५ जना नेपाली छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर