• २०८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 6 March, 2025

रंगशालामा प्रहरीकै अगाडि दर्शक कुट्ने एमाले कार्यकर्तालाई सत्ताको संरक्षण

  • गाेप्य रुपमा खटाइएका थिए चार हजार कार्यकर्ता

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीकै अगाडि रंगशालाभित्र दर्शक कुट्ने एमाले कार्यकर्ताले सत्ताको संरक्षण पाएका छन् । सोमबार साँझ दशरथ रंगशालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकमाथि जंग तामाङसहितका कार्यकर्ताले आक्रमण गरेका थिए ।

सुरक्षामा खटिएको प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गर्न सक्थ्यो । तर, स्पष्ट चिनिने गरी सामाजिक सञ्जालमा कुटपिटका भिडियो ‘भाइरल’ हुँदासम्म पनि ‘उजुरी नआएको’ भन्दै उल्टै संरक्षण दिएको छ । कुटपिटमा संलग्न सिन्धुपाल्चोक घर भएका तामाङ युवा संघमा आबद्ध छन् । 

रंगशालामा खिचिएको एउटा भिडियो भाइरल भएको रहेछ । भिडियोबारे प्रहरीलाई नोटिस छ । अहिले भिडियो भेरिफाई गर्ने काम भइरहेको छ । हालसम्म कसैको आधिकारिक उजुरी पनि आएको छैन । प्रहरीले थप छानबिन पनि गरेको छैन ।

सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री, दलका नेता वा उच्चपदस्थमाथि नागरिकले असन्तुष्टि प्रकट गरेको यो नै पहिलो होइन । विगतमा पनि यस्ता नाराबाजी भएका थिए । यस्तो अवस्थामा सुरक्षामा खटिएका प्रहरीले परिस्थिति शान्त पार्न सक्छन् । तर, सोमबार युवा संघका दुई युवकले दर्शकमाथि मुक्का हानिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी उल्टै मुक्का खानेमाथि नै खनिएको सार्वजनिक भिडियोमा देखिन्छ । 

घटनास्थलमा रहेका प्रहरीले कुटपिटमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ गर्नुको सट्टा कुटाई खानेलाई प्यारापिटबाट हटाई युवा संघकै कार्यकर्तालाई जिम्मा लगाइदिएका थिए । त्यसपछि युवा संघका कार्यकर्ताले ती युवकलाई रंगशालाबाट बाहिर निकालेका थिए । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहरा रंगशालामा भएको कुटपिटका सम्बन्धमा सामाजिक सञ्जालमा भाइरल भिडियो भेरिफाई गर्ने काम भइरहेको बताउँछन् ।  

युवा संघका उपाध्यक्ष महाराज गुरुङले भने रंगशालामा कुटपिट गर्ने व्यक्तिहरू युवा संघका कार्यकर्ता नरहेको दाबी गरेका छन् । उनीहरू एमाले समर्थक भएको र घटनालाई पनि सामान्य रूपमा लिएको उनले बताए ।  

खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला प्रवेश गरेलगत्तै नाराबाजीमा उत्रिएका दर्शकमाथि कुटपिट भएको थियो ।

गत १४ कात्तिकमा दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिप प्रतियोगितामा समेत प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो । सोमबार पनि प्रधानमन्त्रीविरुद्ध कसैले नारा लगाए ‘ठिक पार्न’ भन्दै युवा संघले चार हजारभन्दा धेरै युवा रंगशालामा उतारेको थियो । 

एन्फाले १६ हजार टिकट बिक्री गरेको थियो । तर, युवा संघले शक्तिको आडमा चार हजार कार्यकर्तालाई निःशुल्क प्रवेश पास बाँडेको स्रोतको दाबी छ । प्यारापिटका हरेक ब्लकमा युवा संघका कार्यकर्ता खटिएका थिए । उनीहरूलाई ओलीविरुद्ध नारा लगाउने दर्शक पहिचान गर्ने र रंगशालाबाट बाहिर निकाल्ने निर्देशन थियो । सोही निर्देशनअनुसार सोमबार कुटपिट भएको प्रहरी स्रोतले बतायो । 

सांसदहरूले रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने दर्शकलाई कुट्नेमाथि कारबाहीको माग गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले रंगशालाभित्रै देखादेखी दर्शक कुट्नेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । सत्ता र शक्तिको बलमा परिचालित पद्धति अन्त्य हुनुपर्ने उनको माग छ ।

सिंहदरबारमा समितिको बैठकपछि उनले भने, ‘सत्ता र शक्तिको आडमा परिचालित हुने पद्धति अन्त्य हुुनुपर्छ । पुलिसलाई कुट्दा कारबाहीको दायरामा ल्याउनुपर्छ भन्यौँ । त्यस घटनामा संलग्न कुन पार्टीको भनेर हामीले हेरेनौँ । त्यहाँ (रंगशालामा) पनि देखादेखी कुटपिट भयो । ती मान्छेलाई कारबाहीको दायरामा सरकारले ल्याउनुपर्छ ।’ 

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रंगशालामा फुटबल हेर्न पुगेका दर्शक कुट्नुलाई ‘ओलीतन्त्रको अराजक गतिविधि’ भनेका छन् । राणा शासनमा भन्दा धेरै अत्याचार भएको उनको भनाइ छ । कार्यव्यवस्था समितिको बैठकपछि उनले भने, ‘रंगशालामा ओली सरकारको गुन्डागर्दी खुलमखुला देखियो । जहानियाँ राणा शासनमा नदेखिएको दृश्य देख्यौँ । प्रहरीकै सामुन्ने पब्लिक कुटिए । बर्दिवाला डिएसपीले कुटपिटमा संलग्नविरुद्ध कारबाही गरेनन् । यो त राणा शासनभन्दा पनि चर्को भयो ।’ नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर