नेपाल बारमा 'सत्ता गठबन्धन विरुद्ध बार गठबन्धन’को भिडन्तः रमणको प्रस्तावक शम्भु

काठमाडौं । नागरिक अगुवा संगठन नेपाल बार एशोसियशनको चुनावमा सत्तारुढ गठबन्धन नेपाली कांग्रेस र नेकपा एमाले निकटका वकिलहरुको संयुक्त प्यानल तयार भएको छ ।
सत्ता गठबन्धनको प्यानललाई बार गठबन्धन भन्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको प्यानलले चुनौति दिने भएको छ । श्रेष्ठलाई अर्का वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठले प्रस्ताव गरेका छन् भने वरिष्ठ अधिवक्ता शुशील पन्तले समर्थन गरेका छन् ।
याे प्यानलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपा मिलेका छन् ।
अध्यक्ष पदमा माओवादीनिकट रमण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्।
महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले उपाध्यक्ष पद लिएको छ।
त्यस्तै सत्तागठबन्धन नेपाली कांग्रेस-नेकपा एमालेले पनि गठबन्धन खडा गरेको छ। उक्त गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइरालालाई उम्मेदवार बन्दैछन्। मिश्र नेपाल बारका पूर्वमहासचिव हुन्।
आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ।
आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।
प्रतिकृया दिनुहोस