• २०८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025

राष्ट्रपति पौडेलले १८ वर्ष पुराना स्वकीय सचिव हटाएर राखे आफन्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली राजनीतिमा नै सामान्य जीवनशैली भएका, आदर्शकाे राजनीति गर्ने नेता मध्यमा पर्दछन् । 

सत्तामा रहेका बेलासमेत ठूलो रवाफ नदेखाएका उनी राजनीतिक रंगमञ्चबाट झण्डै बाहिरिदै गर्दा राष्ट्रपति बनेका थिए । 

राष्ट्रपति बन्नु अघि विगत १८ वर्षदेखि उनलाई स्वकीय सचिवको जिम्मेवारीमा रहेका चिरञ्जीवी अधिकारीले साथ दिदै आएका थिए । तर अहिले राष्ट्रपति पौडेलले समेत परिवार मोह र आफन्त मोह देखाउँदा उनै अधिकारी हट्ने र उनको स्थानमा पौडेलका आफन्त पर्ने सुशील तिमिल्सेना नियुक्त भएका छन् । 

राष्ट्रपति पौडेलका नातेदार समेत रहेका तिमिल्सेनालाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो ।

सुशील यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए । सुशीललाई चिरञ्जीवी अधिकारीको स्थानमा नियुक्ती गरिएको हो । विज्ञ सल्लाहकारसँग असन्तुष्ट अधिकारी पारिवारिक कारण देखाउँदै केही समयअघि अमेरिका गएका छन् ।

पौडेलको सचिवालयबाट हटाएपछि अधिकारीले आफु १८ वर्षसँगै बसेर काम गरेपनि एक पटक पनि हटाउनुअघि नसोधिएको गुनासो गरे ।  

अधिकारीले आफू असन्तुष्ट रहेको कुरा बेलाबेला फेसबुकमा समेत लेख्ने गरेका छन् । उच्च पदस्थलाई सुविधा दिने बहसमा होस वा सम्पत्तीको छानविनका विषयमा उनले सम्माननीयबाट यसको सुरुवात गर्नुपर्छ भन्दै पौडेलको सचिवालयमाथि कटाक्ष गरेका छन् । 

उनले लेखेका छन्, 'अहिले देशमा सरकारी खर्च कटौतीको विषयमा बहस भइरहँदा तल्लो तहबाट हैन माथिल्लो तहबाट खर्च कटौती गर्न आवश्यक छ । त्यसैले सबैभन्दा पहिलो सम्माननीयज्यूहरुका विज्ञ सल्लाहकारहरुको कटौती गर्न आवश्यक छ । मेरो अनुभवमा सम्माननीय राष्ट्रपतिज्यूका लागि परराष्ट्र र कानूनी सल्लाहकार र सम्माननीय प्रधानमन्त्रीज्युका लागि परराष्ट्र , प्रसशानीक कानुनी सल्लाहकार भन्दा अरु आबश्यक छैन जस्तो लाग्छ । त्यहि अनुसारको कर्मचारीको सङ्ख्या पनि घटाउन आवश्यक छ । यदि साँचिकै देशको खर्च कटौती गर्ने हो भने पहिला यहीँबाट कटौती सुरु गर्न जरुरी छ ।'

राष्ट्रपति पौडेलको प्रमुख स्वकिय सचिवमा उनकै कान्छी छोरी अवज्ञा पौडेल छिन् । राष्ट्रपति पौडेलको वातावरण विज्ञ सल्लाहकारमा ज्वाइ प्रमेश्वर पोखरेल लाई नियुक्त गरेका छन् । राजनीतिक विज्ञ सल्लाहकारको जिम्मेवारी पूर्वप्रधानमन्त्री एबं राप्रपा नेता सूर्य बहादुर थापाका छोरा सुनिल थापा छन् भने कानुन विज्ञ सल्लाहकार बाबुराम कुँवर छन् ।  

आर्थिक सल्लाहकार (विज्ञ) चिरञ्जीवी नेपालले गत वर्ष नै राजीनामा दिएपछि किरण पोखरेल प्रेस विज्ञ सल्लाहकारमा बढुवा भएका छन् । त्यसअघि उनी सञ्चार सचिवको जिम्मेवारीमा थिए ।

राष्ट्रपतिको सचिवालयमा अहिले सहसचिवको जिम्मेवारीसहित सूर्यचन्द्र बस्नेत छन् । उनी राससकाे स्थायी कर्मचारी हुन् । साथै शाखा अधिकृतको सुविधासहित खिला कार्कीका साथै पौडेलका नाती र भान्जी बुहारीलाई पनि राखेका छन् । 

दुरसञ्चार कार्यरत जेठी छोरी शर्मिलालाई काज सरुवामा शीतल निवास आएकी छिन् । राष्ट्रपति पौडेलले भाइको छोरा अनिल पौडेललाई युवा स्वरोजगारको उपाध्यक्ष नियुक्ती गर्न खेलकुद मन्त्री तेजुलाल चौधरीलाई दवाव दिइरहेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर