उठिबास लागेकाे दलित परिवारको घर मधेश सरकारले बनाइदिने

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा अछूत भन्दै घर भत्काइएका दलित समुदायका दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको छ । मधेश प्रदेश सरकारले मदन भण्डारी आवास कार्यक्रमबाट दीपकको घर बनाइदिन लागेको हो ।
मधेश प्रदेश सरकारको पाँच लाख ६० हजार बजेटमा निर्माण हुने उक्त घर शौचालय र भान्सासहित दुई कोठाको हुनेछ । घर निर्माण एक साताभित्रै सुरु गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
यसअघि मंगलबार दीपक आवासको बन्दोबस्त गरिदिन माग गर्दै दलित अगुवाहरुसहित मुख्यमन्त्री सिंहलाई जनकपुर गएर भेटेका थिए ।
प्रदेश सरकारको प्रतिनिधिका रुपमा बिहीबार प्रदेशसभा सदस्य संजयकुमार यादव, जिबछी यादवलगायत पीडितको घर नै पुगेका थिए । स्थानीय जनप्रतिनिधि र अगुवाहरुसँग बसेर अहिले सारिएको ठाउँमै ७ धुर जग्गा छुट्याएर घर निर्माणको टुंगो लगाएको प्रदेशसभा सदस्य यादवले बताए ।
अब शुक्रबार आफूले पूर्वाधार विकास कार्यालय, सिरहालाई घरका लागि सिफारिस गर्ने र त्यसलगत्तै प्राविधिक यहाँ आएर घर निर्माण अगाडि बढाउने उनले जानकारी दिए । यस्तै, पीडित परिवारलाई खानेपानी र बिजुलीका लागि पनि पहल भइरहेको उनको भनाइ छ ।
प्रदेश सरकारको यो सहयोग विशुद्ध रुपमा पीडितका लागि भएको र पीडितको घर भत्काउने काममा संलग्नमाथि अहिले अघि बढेको कानुनी कारबाही प्रक्रियासँग यसले कुनै सम्बन्ध नराख्ने यादवले बताए ।
औरही–५ मा महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको दीपकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।
प्रतिकृया दिनुहोस