काठमाडौंका नेवार समुदायले भन्यो, राजतन्त्र र हिन्दुराज्य स्वीकार्य छैन

काठमाडौं । पछिल्लो चरणमा राजावादीहरु राजतन्त्र फर्काउन हौसिएर लागिरहेका बेला आन्दोलनको उद्गम स्थल काठमाडौंका रैथाने नेवारी समुदायले भने त्यसको सम्भावना नरहेको बताएका छन् ।

उनीहरुले नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्काउने अभियानमा नेवार समुदायको साथ नरहेको उनीहरुले सार्वजनिक गरेका छन् । 

काठमाडौं उपत्यकाको नेवाः समुदायले संघीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी भएका गतिविधिलाई प्रतिगामी भन्दै त्यस्ताे चलखेल स्वीकार्य नहुने स्पष्ट पारेको हाे । नेवाः समुदायका अगुवाहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।

नेवाः समुदायका अगुवाहरूले बिहीबार विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको स्पष्ट पारेका हुन् । उनीहरूले पुरानो सामन्ती राजन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई दमन गरेको स्मरणसमेत गरेका छन् ।

‘नेपाल एक बहुजातीय, बहुभाषिक बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । पुरानो सामन्ती राजतन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको यस विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रुपमा दमन गरेको सर्वविदितै छ,’ विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘उक्त व्यवस्थाको विरुद्ध नेवा:  लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलि, महिला समुदायको सहभागितामा २०६२/०६३ मा भएको दोस्रो जनआन्दोलनले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको हो ।’

नेवाः समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी प्रतिगामी शक्तिहरू चलमलाउन थालेको पाइएको भन्दै यस्ता गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

‘लामो संघर्षको बलमा स्थापित स्ंघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पुर्‍याउने यस्ता गतिविधिहरू हामी नेवा समुदायलाई कदापी स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले यस्ता गतिविधि नियन्त्रण गर्न र संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाज निर्माणको राष्ट्रिय संकल्पलाई पूरा गरी नेवाः लगायत आम जनताका असन्तोषहरूलाई इमान्दारीपूर्वक सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई अपिल गरेको छ ।

विज्ञप्तिमा मल्ल के सुन्दर, हितकर वीर सिं कंसाकार, प्रा.डा. नरेशमान बज्राचार्य, भीमसेनदास प्रधान, राजेन्द्रप्रसाद श्रेष्ठ, डा. पुष्पराज राजकर्णिकार, मुक्ति प्रधान, नरेशकुमार ताम्रकारलगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर