रत्नपार्क, भृकुटिमण्डप र भद्रकाली सडक बन्द, ४५ सय प्रहरी परिचालन

काठमाडाैं । गणतन्त्रकाे पक्षमा समाजवादी मोर्चाको आमसभा र राजा फर्काउन राजावादीले गरेकाे सभाका कारण काठमाडाैंका सवारी व्यवस्था खल्बलिएकाे छ ।
आमसभाको तयारीस्वरुप रत्नपार्क, भृकुटिमण्डप, भद्रकाली सडक बन्द भएको छ ।
माओवादी, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको जनसभा प्रदर्शनीमार्गमा र पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तिनकुनेमा सभा गर्दै छन् ।
दुई फरक विचार, पृष्ठभूमि र माग राख्ने पक्षले एकैदिन काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
समाजवादी मोर्चाले सभाका लागि भद्रकाली र पुरानो बसपार्कबिच राष्ट्रिय सभातर्फ प्रवेश गर्ने सडकको मुखमै मञ्च खडा गर्ने भनिएको छ । प्रदर्शनमा सहभागी हुनेलाई उत्तरतर्फ पुरानो बसपार्क हुँदै रत्नपार्कसम्म, पूर्वतर्फ राष्ट्रिय सभा अघिल्लोतर्फको सडक हुँदै पद्मोदय मोडसम्म र दक्षिणतर्फ भद्रकालीसम्म राख्ने योजना प्रहरीले बनाएको छ ।
त्यस्तै, राजसंस्था पक्षधरले सभाका लागि तीनकुनेमा मञ्च खडा गर्ने भनिएको छ । त्यहाँको सुरक्षा प्रबन्ध पनि सोहीअनुसार मिलाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले सुरक्षाका सबै प्रबन्ध मिलाइएको बताए । ‘एउटा पक्षको भृकुटीमण्डपमा र अर्काे पक्षको तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासनले स्थान तोकेको छ । दुुवै कार्यक्रम शान्तिपूर्ण होस् भन्ने पक्षमा प्रहरी छ,’ उनले भने ।
दुई पक्षलाई जम्काभेट हुन नदिने रणनीतिमा प्रहरी छ । एसपी बोहराका अनुसार दुवै पक्षको भेट हुन नदिन झन्डा र नाराका आधारमा प्रदर्शनकारीको पहिचान गरिनेछ र उनीहरूलाई फरक–फरक सडक प्रयोग गरी सभास्थलसम्म लैजान प्रहरीले भूमिका खेल्नेछ ।
दुवै सभालाई लक्षित गरी काठमाडौंमा मात्र नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय सुरक्षाकर्मी खटिनेछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंमा प्रहरीको तीन हजार जनशक्ति परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सयको जनशक्ति परिचालन हुने भएको छ । प्रहरीले एक हजार चार सय दस्तालाई अलर्टमा राखेको छ ।
प्रतिकृया दिनुहोस