• २०८१ चैत १९ मंगलबार
  • Tuesday, 1 April, 2025

तीनकुनेमा वितण्डा: ज्ञानेन्द्र शाह अघोषित नजरबन्दमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै सरकारले उनलाई अघोषित नजरबन्दमा राखेको छ। शुक्रबार रातिदेखि नै पूर्वराजाको निवास र वरिपरिको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै बाहिर निस्कन नदिने गरी अघोषित नजरबन्दमा राखेको हो। त्यहाँ भेटघाटका लागि जानेहरूलाई समेत निगरानीमा राखिएको छ। सरकारले शुक्रबारबाटै उनका गतिविधिमा निगरानी बढाएको हो। सरकारले पूर्वराजाको राहदानी रद्द गर्ने प्रक्रिया पनि अघि बढाएको छ। उनलाई मुलुकबाहिर समेत जान नदिने नीति सरकारले लिन लागेको छ।

सरकारले पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी कटौती गरिदिएको छ। सशस्त्र प्रहरीले शुक्रबार राति ११ः३० मा सरकारको निर्देशनमा पूर्वराजाको १० सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो।

डिएसपी जगदीशचन्द्र हमाल नेतृत्वको २५ जनाको सुरक्षा टोलीलाई फिर्ता गरी त्यसमा १० जना कटौती गरेर डिएसपी प्रमोदप्रकाश पाठकको नेतृत्वमा १५ जनालाई मात्र त्यहाँ पठाइएको छ। ‘फौज अदलीबदलीका क्रममा थपघट गरिएको हो। केही दिनमा अर्को निर्णय हुनेछ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने।

पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गरेपछि राजवादी समूहहरूले उत्साहित भएर राजाको समर्थनमा नाराबाजी गर्दै आएका थिए। ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुनेछ। राष्ट्ररक्षाका निम्ति सबैको अनुशासन र प्रयत्न हुनुपर्छ।

हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं,’ पूर्वराजाले त्यसबेला भनेको थिए, ‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, तयार छौं। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्छौं।’

यही अभिव्यक्तिपछि राजावादीको एक समूहले ज्ञानेन्द्रकै निर्देशनमा पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलनका लागि समिति बनाएको थियो। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आन्दोलनको कमान्डर बनाइए । शुक्रबार प्रदर्शन गर्नुअघि पूर्वराजा ज्ञानेन्द्रको निर्देशन लिन बिहीबार उनीहरू निर्मल निवास पुगेका थिए।

निर्मल निवासबाट फर्केर आएपछि पत्रकार सम्मेलन गरेको सो समूहले शुक्रबार दुई जनाको ज्यान जाने गरी हिंसात्मक आन्दोलन गरेको थियो। सोही विषयलाई लिएर सरकारले राज्यविरुद्धको कसुरमा पूर्वराजा ज्ञानेन्द्रविरुद्ध अनुसन्धान गर्ने भएको छ।

 सरकारले संविधानको अधीनमा रही अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको छ। गृह मन्त्रालयले आइतबारबाटै काम थाल्ने एक उच्च अधिकारीले बताए। गृहमन्त्री रमेश लेखकले पनि शनिबार बिहान शुक्रबारको घटना भएको स्थल र सञ्चारमाध्यम अनुगमनका क्रममा हिसात्मक घट्नाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताएका छन्।

अधिवक्ता राधिका खतिवडाका अनुसार पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले चाहे चार वटा कसुरमा मुद्दा चलाउन सक्नेछ। ‘शुक्रबारको घटना पूर्णतः संविधानविरोधी छ। आक्रमण, लुटपाट र आगजनी भएको छ, साथै व्यक्तिहत्या पनि भएको छ। त्यसकारण पूर्वराजालाई मतियार होइन, मुख्य योजनाकारका रूपमा मुद्दा चलाउन सकिन्छ,’ उनले भनिन।

 खतिवडाका अनुसार मुलुकी अपराध संहिताको दफा ५० र ५१ अन्तर्गत राजद्रोहको मुद्दा आकर्षित हुन्छ। राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, तीनभन्दा बढी समूहले डकैती गरेको कसुर, हातहतियार लुटपाट, संगठित अपराधको कसुर पूर्वराजामाथि मुद्दा लगाउन पर्याप्त आधार हुन्।

‘संविधानको धारा ५ विपरीत कसुर गरे मुलकी अपराध संहिता २०७४ को दफा ५० को कसुर ५१ को उपदफा २ अनुसार राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सकिने व्यवस्था छ। मुलुकी अपराध संहिताको दफा २४४ को (क), (ग), (घ) पनि आकर्षित हुनेछ,’ अधिवक्ता खतिवडाले भनिन्।

यसैगरी सरकारले पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिएका सबै सुविधा कटौती गर्ने तयारी गरेको बेला सशस्त्र प्रहरीको टोली घटाइएको छ। नारायणहिटी राजदरबारबाट हटेपछि पूर्वराजपरिवारलाई सरकारले आवाससहितको सुविधा दिइरहेको छ। पूर्वराजपरिवारले प्रयोग गर्दै आएको नागार्जुन दरबार सरकारले आवास सुविधाअन्तर्गत उपलब्ध गराएको हो। निर्मल निवास भने पूर्वराजा ज्ञानेन्द्रको निजी निवास हो।

पूर्वराजपरिवारका सबै सदस्यको सुरक्षाका लागि भन्दै सरकारले सशस्त्र प्रहरीका एक सय ५५ जना सुरक्षाकर्मी खटाएको थियो। यस्तै इन्धनसहित तीनवटा सवारीसाधनसमेत उपलब्ध गराउँदै आएको छ। तीमध्ये सशस्त्र २५ जना ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका थिए। परिवारका सदस्यहरूलाई खटाइएको टोलीलाई पनि फिर्ता गरिएको छ।

‘परिवारका सदस्यलाई दिएको सुरक्षा दुई दिनभित्र सशस्त्रको कार्यदलमा हाजिर हुनेछन्,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले जनाएको छ। तर सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले डिएसपीको कमान्डमा १५ जना सुरक्षाकर्मी खटिएको बताए।

पूर्वराजा ज्ञानेन्द्रलाई असीमित रूपमा जति पनि प्रयोग गर्न पाउने इन्धनको सुविधा, पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाहलाई उनलाई चालक, एक सय २० लिटर पेट्रोल–मोबिलसहित मर्मत खर्च र पछुवा गाडीलाई समेत पेट्रोल या डिजेलसहितको इन्धन सुविधा दिइएको छ। उनलाई नागार्जुन दरबारमा दिइएको आवास सुविधा थप ८५ हजार रूपैयाँ घरभाडाबापतको रकम पनि दिने गरिएको थियो। ८५ हजार रकम भने ६ वर्षदेखि रोकिएको छ। पूर्वराजा ज्ञानेन्द्रले पाएका दुईवटा सवारीसाधन र नागार्जुन दरबार प्रयोग गर्न दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो।

विदेश जान नदिने 

सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई विदेश जानबाट रोक्ने तयारी गरेको छ। नेपालमा व्यापार–व्यवसाय गरिरहेका ज्ञानेन्द्रलाई सरकारले पूर्वराष्ट्र प्रमुखका रूपमा सुरक्षा, आवास, गाडी, इन्धनसहितको सुविधा उपलब्ध गराएको भए पनि उनकै निर्देशनमा हिंसात्मक आन्दोलन भएको ठहर गरी राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाइएको छ। तीनकुनेमा भएको घटनामा पूर्वराजाले नवराज सुवेदी र दूर्गा प्रसाईलाई उक्साएर आन्दोलन गर्न लगाएको र दुई जनाको हत्या भएको विषयलाई लिएर सेवासुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालिएको हो।

दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई कारबाही गर्ने तथा पूर्वराजा ज्ञानेन्द्रलाई देशबाहिर जान नदिने र खाईपाई आएको सुविधामा रोक तयारी गरेको हो। साथै नवराज सुवेदीलाई घोषित रूपमा नजरबन्दमा राखेको छ भने दुर्गा प्रसाई अहिलेसम्म फरार छन्। उनको सामाजिक सञ्जाल फेसबुक भने खुला रहेको देखिएको छ। उनले शनिबार दिउँसो मात्रै आइतबारबाट पुनः आन्दोलन गर्न आग्रह गरिरहेका छन्।

दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतका नेतृत्वमा राजावादी समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडीबुटीलगायत क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए। उक्त क्षेत्रको अनुगमन गर्न गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी पुगेका थिए। राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।

शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल भएको थियो। शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन गर्न थालिसकेको छ। प्रहरीले व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोप आकर्षित हुने गरी अनुसन्धान गर्ने जनाएको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको विमति नभएपछि विरोधसभाका नाममा सुरु भएको तोडफोड र दुई जनाको ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर भएर प्रस्तुत हुन निर्देशन दिएका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाइदिने अभियानमा लागेको समूह अराजक देखिएको छ। सरकारले तोकेको तीनकुने क्षेत्रमा उनीहरूले गरेको प्रदर्शन उग्र बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ। अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौं घाइते भएका छन्। अर्बौंको निजी सम्पत्ति नोक्सान भएको छ। अराजक भिडले लगाएको आगोमा जलेर सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ। झडपमा सर्वसाधारण सविन महर्जनको गोली लागेर मृत्यु भएको छ।

राजा ल्याउने अभियानको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं आफैं सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणमा उत्रिएका थिए। सुरक्षाकर्मीलाई मिच्ने गरी उनी उत्रेपछि उत्तेजित बनेको भिड ढुुंगामुढा गर्नतिर लागेको थियो। भिड अनियन्त्रित बनेपछि ‘सभाका नायक’ बनेका नवराज सुवेदी भागेका थिए भने प्रसाईं पनि गाडी लिएर हिँडेका थिए।

आन्दोलनका नाममा भिडलाई उक्साउनेहरू हिँडेपछि अराजक व्यक्तिहरूले निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आठवटा गाडीमा आजगनी गरे। आक्रामक देखिएको भिडले ट्राफिक बिट पनि भत्कायो। पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड भयो। हिंसात्मक गतिविधि गर्दै हिँडेका उनीहरूले नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट मच्चाउनुका साथै तोडफोडसमेत गरेका थिए।

निर्मम हुन निर्देशन

शुक्रबारको घटनापछि प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। प्रहरी मुख्यालयमा भर्चुअल माध्यमबाट उनले देशभरका प्रहरी कमान्डरलाई सम्बोधन गर्दै शान्ति सुव्यवस्था कायम राख्नु र जिउधनको सुरक्षा गर्नु प्रहरीको प्रमुख जिम्मेवारी भएको स्मरण गराए।

आइजिपी थापाले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन र आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीतिसँगै प्रहरी परिचालनमा कटिबद्ध हुन पनि निर्देशन दिए।

आ–आफ्नो क्षेत्रहरूमा सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्नेमा उनको जोड थियो। अवैध हतियार ओसारपसार, विस्फोटक पदार्थ ओसारपसार, तस्करी एवं गुन्डागर्दीलगायत अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडि बढ्न पनि थापाले निर्देशन दिए। कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतको भौतिक उपस्थिति थियो।

साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश कार्यालयहरू, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवं जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति थियो।
नागरिक दैनिकबाट
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर