• २०८१ चैत २२ शुक्रबार
  • Friday, 4 April, 2025

विश्वकै पहिलो प्रदूषित शहर बन्यो काठमाडौं, अत्यावश्यक भएमात्रै बाहिर निस्कन सुझाव 

काठमाडौं ।  काठमाडौं उपत्यकाको आकाश ढाकेपछि वायु प्रदूषण उच्च भएको छ । धुलोधुवाँका कारण सोमबार र मंगलबार काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको सूचीमा पर्‍यो । धुलोधुवाँ तल्लो वायुमण्डलमा तैरिएर बस्दा आँखा पोल्ने, घाँटी खसखसाउने र नाकबाट सिँगान बग्ने समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।

काठमाडौंको हावामा मंगलबार साँझ औसतमा एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौँभन्दा तीन गुणा मसिना धुलोधुवाँका कण प्रतिघण्टा २२५ माइक्रोग्राम प्रतिघनमिटर मापन भएको छ । यो सूचकांक भक्तपुरमा २३७, रत्नपार्कमा २०९, शंखपार्कमा २०८ र भैँसेपाटीमा १९८ पुगेको वातावरण विभागका वायु गुणस्तर मापन केन्द्रको तथ्यांक छ । एक्युआई १५१ देखि २०० पुग्दा सबै उमेर समूहकालाई अस्वस्थकर र २०१ देखि ३०० पुग्दा निकै अस्वस्थकर मानिन्छ । ‘आइक्यू एअर’को तथ्यांक हेर्दा शीर्ष पाँच उच्च प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा हुँदा दोस्रोमा म्यानमारको रंगुन, तेस्रोमा बंगलादेशको ढाका, चौथोमा भियतनामको हनोई र पाँचौँमा चीनको छेन्दु सहर छन् । 

‘प्रदूषित हावामा डढेलोको धुवाँ पनि मिसिदा जनस्वास्थ्यमा असर गर्नेगरी प्रदूषण बढेको हो । कार्बनमनोअक्साइड पनि फैलिएको छ,’ वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले भने, ‘पोखरादेखि पूर्र्वी नेपालसम्मका वनजंगलमा धेरै डढेलो छ । चितवन, हेटौंडा र चुरेको जंगलमा लागेको डढेलो काठमाडौंको आकाशमा छ । काठमाडौंका वनजंगलमा पनि बेलाबेला डढेलो लागिरहेको छ ।’ लामिछानेले भनेझैं सोमबार १२९ र मंगलबार २४० ठाउँमा डढेलो थियो । चैत–वैशाखमा हावाहुरी चल्ने र सुक्खा धेरै हुने भएकाले डढेलोको ‘पिक सिजन’ पनि भनिन्छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिलेको अवस्थामा काठमाडौं वायु प्रदूषण घट्नका लागि वर्षा वा प्रतिघन्टा ३०–३५ नटका दरले हावा चल्नुपर्ने हुन्छ । ‘तर तत्काल पानी पर्ने सम्भावना छैन, हावा पनि साँझ बिहान औसतमा प्रतिघन्टा ८ देखि १० नटसम्म मात्र चलिरहेको छ,’ मौसमविद् झाले भने, ‘दिउँसो भने केही हावा चल्ने भएकाले (१० देखि १५ नटसम्म) त्यसबखत प्रदूषण केही घट्ने गरेको छ ।’ प्रतिनट १.८५२ किलोमिटर हुन्छ । झाले भनेझैँ हावा चल्दा मंगलबार दिउँसो १२:४५ मा काठमाडौंको एक्युआई १४३ मा झरेको थितयो । तर, बिहान ७:४५ बजे २७८ र साँझ ७:४५ बजे २३५ पुगेको थियो । 

काठमाडौंमा १३ र १४ मार्चपछि वर्षा भएको छैन । १४ मार्चमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वर्षा मापन केन्द्रमा १.५ मिलिमिटर वर्षा रेकर्ड भएको छ। त्यसपछि २२ र २३ मार्चमा उपत्यकाका केही ठाउँमा पानीको छिटासम्म परेको थियो । 

‘बिहान चिसोका कारण प्रदूषणका कण सतहमा हुन्छ । रसायन र धुलोधुँवाका कण नाकमुखबाट सिधै स्वास नलीमा जाने भएकाले प्रदूषण उच्च भएका बेला मर्निङवाक वा अन्य कामका लागि सकेसम्म घरबाहिर ननिस्कनु उचित हुन्छ,’ छाती रोग विशेषज्ञ डा. राजु पंगेनीले भने । डा. पंगेनीका अनुसार कार्बनमनोअक्साड रसाइनका कारण शरीरमा अक्सिजनको मात्रा कम हुन्छ भने प्रदूषित हावाले फोक्सोको स्वास नलीलाई असर गर्छ । ‘घाटी खसखस हुने कालो र खैरी रंगको खकार निस्कने, छाती पोल्ने समस्या हुन्छ,’ यस्तो रसायन र हावा फोक्सोमा पुगेपछि दम, निमोनियाको जोखिम हुन्छ । पहिल्यै दम छ भने बल्झेर आइसियुसम्म पुग्नुपर्ने अवस्था आउनसक्छ । प्रदूषणका साना कण फोक्सोबाट पनि छिरेर शररीको विभिन्न अंगमा जानसक्छ । त्यही भएर अक्सिनको मात्रा कम हुने, घाँटी घ्यारघर भएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।’ वायु प्रदूषणले बालबालिकामा निमोनिया निम्याउँछ । प्रदूषण उच्च भएको क्षेत्र र याममा सरकारले कोभिड–१९ का बखतझैं बालबालिकामा खोप अभियान चलाउन उपयुक्त हुने उनले बताए । 

वायु प्रदूषणले बालबालिकामा निमोनिया पनि निम्त्याउने भएकाले प्रदूषण उच्च भएका बेला संक्रमण फैलन नदिन सरकारले कोभिड–१९ का बखतझैं खोप अभियान चलाउन सक्ने उनको सुझाव छ । 

प्रदूषणका कारण नेपालीको औसत आयु ४.६ वर्षले घटाइरहेको विश्व स्वास्थ्य संगठनले यसअघि नै प्रतिवेदनमा उल्लेख गरिसकेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर