एक सातापछि गृहमन्त्रीले भनेः 'तीनकुने उदण्डताको उदेश्य नै हिंसाबाट गणतन्त्र समाप्त पार्ने थियो'

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजा ल्याउन भन्दै तीनकुनेमा राजावादीहरुले गरेको विध्वंशको विस्तृत जानकारी गराएका छन् ।
संघीय संसदको सुशासन तथा राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा बोल्दै उनले राजावादीहरुको आन्दोलनको पृष्ठभूमि हेर्दा पनि र राजावादी विभिन्न मानिसहरुका धारणा हेर्दा पनि यो सामान्य प्रदर्शन मात्रै थिएन भन्ने निचोड आउने उनले बताए ।
लेखकले संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि स्वीकार्य नहुने पनि स्पष्ट पारे । 'संविधान च्यात्ने र व्यवस्था फाल्ने गतिविधि निस्तेज पारिनेछ,' उनले भने, 'त्यस्तो हुन्छ आन्दोलन, प्रदर्शन ? त्यै हो लोकतन्त्रको उपयोग गरेर आलोचना गर्ने कुरा ? त्यसरी नै यो संविधान जोगाउन सक्छौं ?'
गृहमन्त्री लेखकले राजावादीहरूको प्रदर्शन कुनै राजनीतिक नभई संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई हिंसात्मक तरिकाबाट उल्ट्याउने योजनाका आधारमा रहेको देखिएको बताए ।
लोकतान्त्रिक व्यवस्था र सित्तैमा प्राप्त नभएको उल्लेख गर्दै उनले संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका साथै समानुपातिक समावेशी व्यवस्था जोगाइने उनको भनाइ थियो । हिंसात्मक गतिविधि र उद्दण्डता एवं अराजकताका भरमा व्यवस्था उल्ट्याउनेबारे नसोच्न उनले आग्रह गरे ।
“घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रुपमा अराजकता फैलाउने आपराधिक तथा विध्वंशात्मक कार्य हो भन्ने कुरामा विवाद हुनै सक्दैन। आफ्ना असहमतिहरु शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ। तर अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भत्र्सनायोग्य छ।” लेखकले भने–“ यस्तो कार्यको कानुनी दायित्व यसका रचनाकार तथा आयोजक र संलग्नहरुले लिनु पर्दछ भन्ने कुरामा सरकार प्रष्ट छ ।”
लोकतन्त्र मास्न खोज्नेहरुको पहिलो निशानामा संचारजगत रहन्छ भन्ने कुरा संचारगृहमा खोजि खोजि भएको आक्रमण भएबाट समेत पुष्टि हुने बताउँदै उनले सरकार संचारकर्मी र संचारगृहको सुरक्षामा संवेदनशील रहेको र पूर्णसूरक्षाको प्रवन्ध मिलाउने विश्वास व्यक्त गरे ।
आगामी दिनमा संविधान र व्यवस्था विरोधि अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार थप क्रियाशील भई काम गर्नेमा उनको जोड थियो ।
उक्त प्रदर्शनको नेतृत्व गरेका व्यक्तिहरूको अभिव्यक्ति र उद्दण्डताका बाबजुद सुरक्षाकर्मीले संयमता अपनाएको मन्त्री लेखकको भनाइ थियो । 'भीडको नेतृत्वकर्ताको उद्दण्डताका आधारमा सुरक्षाकर्मीले संयमता नअपनाएको भए थप क्षति हुने थियो । जस्तो खालको उद्दण्डता र आपराधिक गतिविधि भयो त्यसमा संयमता नअपनाएको भए थप क्षति हुने थियो,' उनले भने ।
लेखकले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताए । ‘तीनकुने घटनाको निष्पक्ष रूपमा अनुसन्धान र छानबिन हुन्छ,’ गृहमन्त्री लेखकले भने।
बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनाबारे छानबिन गर्न आयोग गठन गर्न माग गरेका थिए।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै चैत १५ गते तीनकुनेमा प्रदर्शन र सभा थियो। प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खोजेका थिए भने प्रसाईंले गाडीले प्रहरीलाई पेल्दै सुरक्षा घेरा तोडेका थिए।
प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो। प्रदर्शनकारीहरूले निजी घर र सरकारी सवारी साधन तोडफोड र आगजनी गरेका थिए।
तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो। केही घाइतेहरूको अस्पतालहरूमा उपचार जारी छ।
प्रतिकृया दिनुहोस