• २०८१ चैत २९ शुक्रबार
  • Friday, 11 April, 2025

ओलीसँग झण्डै १ घण्टा गोप्य वार्ता गरेपछि मोदीले नेपालीमा यस्तो लेखे...

काठमाडौं । आफू प्रधानमन्त्री भएदेखि नै भारत भ्रमणको निम्तो कुरेर बसिरहेका प्रधानमन्त्री केपी ओलीले आज समकक्षी नरेन्द्र मोदीसँग झण्डै एक घण्टा लामो साइडलाइन बार्ता गरेका छन् । उनको भ्रमण टोलीमा रहेका केही नेपाली अधिकारीहरुका अनुसार मोदी–ओली ४५ मिनेट भन्दा लामो गोप्य बार्ता सम्पन्न भएको छ । 

भेटबारे प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।’

ओलीले भनेका छन्, 'मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री Narendra Modi जीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्‍यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।'

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने सामाजिक सञ्जाल एक्समा नेपाली भाषामा नै लामो ट्वीट लेखेका छन् । उनले भनेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारतनेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’

ओलीले भारतको औपचारिक भ्रमणका लागि लामोसमयदेखि कुटनीतिक पहल गरेपनि अहिलेसम्म भारतले निम्तो पठाएको छैन । आज भएको यो भेटले दुई नेताबीचको सम्बन्धमा न्यानोपन आउनसक्ने कतिपय कुटनीतिज्ञले अनुमान गरेका छन् । 

यसअघि यी दुई नेताबीच संयुक्त राष्ट्रसंघको बैठकका क्रममा छोटो भेट भएपछि अहिलेजस्तो विस्तृत कुराकानी हुन सकेको थिएन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर