• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

रञ्जिताले किन राेकिन् जनमत-नागरिक उन्मुक्ति एकता प्रकृया !

काठमाडाैं । संरक्षक रेशम चौधरीले भनेअनुसार हो भने यतिबेला नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता भइसक्नुपर्ने हो। चौधरीले चाँडै एकता हुन्छ भनेको महिनौं बितिसकेको छ। तर, अहिलेसम्म एकता हुन सकेको छैन।

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत एकताका लागि तयार छ। तर, हलो नागरिक उन्मुक्तिकै कित्तामा अड्किएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले तत्कालका लागि एकतामा 'ब्रेक' लगाएकी छन्।

रेशम चौधरी र चन्द्रकान्त राउतबीच दर्जनौं पटक वान् अन वान् भेटवार्ता भएका छन्। उनीहरू सबै तवरबाट पार्टी एकताका लागि तयार छन्। उनीहरूले साङ्गठनिक तथा सैद्धान्तिक सहमति जुटाइसकेका छन्। तर, रञ्जिता श्रेष्ठ चौधरीको ब्रेकले गर्दा पार्टी एकता हुन सकेको छैन।

निर्णायक वार्ताका लागि भन्दै चौधरी-राउत गत चैत २३ गते बाँकेको गाभर पुगे। आ-आफ्नो कार्यदलसहित गाभर पुगेका उनीहरूले वार्ता टुङ्ग्याए। तर, रञ्जिता मानिनन्। त्यहाँ चौधरी-राउतबीच सहमति जुटेअनुसार पार्टीको नाम नागरिक जनमत पार्टी हुने र पहिलो तथा दोस्रो वरीयतामा क्रमश: चौधरी र राउत हुने भनिएको थियो। त्यसमा चौधरी संरक्षक र राउत कार्यकारी अध्यक्ष हुने सहमति जुटेको जनमतका तर्फबाट गठित कार्यदलका एक सदस्य बताउँछन्।

तर, रञ्जिता नमान्दा त्यो निर्णय अलपत्र परेको ती सदस्यको भनाइ छ। उनकै कारणले एकता प्रक्रिया रोकिएको उल्लेख गर्दै उनले भने, 'रञ्जिताजीले एकता रोक्नुभएको जानकारी आएको छ। तत्कालै केही नहुने देखियो।'

चौधरी-राउतबीच गाभरमा रञ्जितालाई सहअध्यक्ष बनाउने सहमति जुटेको थियो। तर, त्यसमा उनले चित्त बुझाइनन्। उनले आफूलाई कार्यकारी अध्यक्षसरहकै हैसियत चाहिने अडान कसेकी छन्।  

रञ्जिताले यसअघि फेसबूकबाटै आफूलाई 'बाइपास' गरेर अगाडि नबढ्न चेतावनी दिएकी छन्। आफूले रुख बन्छु भन्दा बन्चरोमा धार लगाउन थालिएको उल्लेख गर्दै उनले भनेकी छिन्-रुख काट्नै लाग्नुभयो भने पनि ख्याल गर्नुहोला। काटेको रुख तपाईंकै टाउकोमा पनि पर्न सक्छ।

यसपछि राउतले चौधरीसँग के गर्ने भनेर सोधेका थिए। चौधरीले 'म मिलाउँछु' भन्ने जवाफ फर्काएका छन्। आउँदो वैशाख ७ र ८ बैठक राखेर पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जितालाई मिलाउन चौधरी लागिपरेका छन्। तर, रञ्जिताले भने सम्मानजनक वरीयता पाउनुपर्ने अडान राखेकी छन्।

चौधरी कुनै पनि हालतमा जनमतसँग पार्टी एकता गर्ने अडानमा छन्। उनले यसअघि नै भनिसकेका छन्- अब पछाडि फर्किँदैनौँ।

सकेसम्म मिलाउने, अन्यथा आफू पक्षीय नेताहरू मात्रै लगेर पनि पार्टी एकता गर्ने सोचमा चौधरी पुगिसकेका छन्। यस्तो अवस्थामा चौधरीले रञ्जितालाई बाइपाससमेत गर्न सक्ने नेताहरू बताउँछ।

अहिलेका लागि राउतलाई अध्यक्ष स्वीकारेर पछि अनुकूल हुँदा नेतृत्व नै गरेर अगाडि बढ्ने सोचमा देखिएका चौधरी अहिले कुनै पनि हालतमा एकतामा हुनुपर्ने अडानमा छन्।

त्यसो त चौधरी-रञ्जिताबीच पार्टीको पहिलो महाधिवेशनयता राम्रो सम्बन्ध छैन। पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाट सुरु भएको उनीहरूबीचको टकराव पछि 'पानी बाराबार'कै अवस्था आइपुगेको थियो। उनीहरूबीचको टकरावले सुदूरपश्चिम प्रदेशमा पार्टीले पाइसकेको मुख्मन्त्रीसमेत गुमाएको थियो। 

अहिले पनि उनीहरूबीच हार्दिक सम्बन्ध छैन। त्यसैले पार्टी एकताबारे पनि उनीहरू आफूअनुकूल गतिविधि गर्दै र जानकारी दिँदै आएका छन्। चौधरी आजको भोलि एकता हुने बताउँछन् भने रञ्जिता कहिल्यै नहुन सक्ने तवरले जानकारी दिन्छिन्। 

यस्तो अवस्थामा चौधरी निर्मम बन्न सक्ने बताइन्छ। उनले रञ्जितालाई बाइपास गरे त्यो नौलो मान्न नपर्ने स्रोत बताउँछ। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर