• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

झापाले उपाधिकाे दाबेदार ललितपुरलाई बराबरीमा रोक्यो

काठमाडौं । प्रतियाेगिताबाट बाहिरिएकाे झापा एफसीले तेस्रो एनसेल सुपर लिग (एनएसएल) मा क्वालिफायर वानमा पुगिसकेको ललितपुर सिटी एफसीलाई १-१ गोलको बराबरीमा रोकेको छ।

बराबरी नतिजा निकाल्न माहिर झापाको यो पाँचौं बराबरी हो। ललितपुरको लागि नविन लामा र झापाको लागि लाकेन लिम्बुले गोल गरे।

दशरथ रंगशालामा यो खेलको नतिजाले कुनै पनि समीकरणलाई असर गर्दैन्थ्यो। झापा पहिलो जित निकाल्न चाहन्थ्यो। तर ललितपुरलाई हराउन झापा असफल रहयो।

खेलको २४ औं‌ मिनेटमा झापाका आरसिस लजारको कर्नरमा अल्हाजी गेरोको हेडर क्रसबार माथिबाट बाहिरियो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

खेलको ५४ औं मिनेटमा ललितपुरले अग्रता बनायो। सबस्टिच्युट अनमोल भण्डारीको क्रसमा नविनले क्लोज रेन्जबाट सहजै ट्याप इन गर्दै गोल गरे। यो सिजन पहिलो पटक प्लेइङ इलेभेनमा खेलेका नबिनको पहिलो गोल हो।  

ललितपुरको यो अग्रता ६५ औं मिनेटमा तोडियो। गोल किपर समितले राम्ररी बल क्लियर गर्न सकेनन्। यसपछि प्रविणले डिफेन्डरलाई बिट गर्दै दिएको पासमा कप्तान लाकेनले बक्सभित्रबाट गोल गरे। यो सँगै खेल १-१ को बराबरीमा पुग्यो।

इन्ज्युरी समयको छैटौं मिनेटमा दिपेश धिमालले दिएको उत्कृष्ट क्रसमा अभिनाषको हेडर क्रसबारमा लागेर फर्कियो। दुवै टोलीबाट थप गोल नहुँदा खेल १-१ को बराबरीमा सकियो।

अपराजित ललितपुरले ६ खेलमा ३ जित र ३ सहित १२ अंक जोडेको छ। उसले शनिवार धनगढीसँग पहिलो क्वालिफायर खेल्नेछ।

झापाले यो सिजन जित विहिन हुँदै सिजनको अन्त्य गरेको छ। उसले ६ खेलमा ५ बराबरी र एक हारमा ५ अंक बनाएकाे छ ।

जारी एनएसएलमा ललितपुर र धनगढी क्वालिफायर वानमा पुगिसकेका छन्। पोखरा थन्डर्स प्ले अफमा पुगिसकेको छ।

अब भोलि हुने चितवन र धनगढीबीचको खेलले प्ले अफमा पुग्ने चौथो टिमको निर्णय गर्नेछ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर